
कास्की – नेशनल प्याब्सन कास्की जिल्लाको १३ औं खेलकुद सप्ताह “नेशनल प्याब्सनको मान्यता शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने नाराका साथ मंसिर २०,२१,२२ र २३ गते कास्की जिल्ला अध्यक्ष हेमन्त अधिकारीको सभापतित्त्व एवं केन्द्रिय अध्यक्ष पाण्डब हमालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा पूर्व अध्यक्ष कर्ण बहादुर शाही, सल्लाहकार ज्ञानेन्द्र मोहन भट्टराई, उपाध्यक्ष यम बहादुर खड्का, महासचिव पारसमणि दाहाल, कोषाध्यक्ष प्रताप बहादुर थापा, गण्डकी प्रदेश अध्यक्ष राम बहादुर मोची, केन्द्रिय सदस्य राम बहादुर थापा लगायत जिल्ला, प्रदेशका पदाधिकारीहरु एवं अन्य विविध ब्यक्ति विशेषको उपस्तिथि रहेको थियो ।
पोखरा रंगशालामा सम्पन्न कार्यक्रममा खेलकुदका विभिन्न विधामा सहभागी भइ विजयी विद्यार्थी भाईबहिनीहरुलाई केन्द्रिय अध्यक्ष एवं प्रमुख अतिथि हमालले पुरस्कार वितरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले खेलकुद जीवनमा अति आवश्यक कुरा भएको र निरन्तर खेल खेल्ने ब्यक्ति जीवनभर स्वास्थ रहने, पुर्तिलो हुने, जाँगरिलो हुने, पढाईमा समेत तेज हुने र गरेका हरेक काममा सफलता प्राप्त गर्न सक्ने हुन्छन् । तर फेरि पढाई छोडेर, काम बिगार्दै खेल्न मात्र लागियो भने जीवनमा दु:ख पाइनुको साथै पछुताउनु पर्ने हुन्छ। कास्की जिल्लाले वर्षिनै गर्दै आएको यो महान कदमको हामी सबैले अन्तर आत्मादेखि नै प्रशंसा गर्नै पर्छ । प्रत्येक वर्ष गरिने यो कार्यक्रम कास्की जिल्लाका लागि एक महान पर्वको रुपमा स्थापित भएको छ । २४ हजार विद्यार्थी सहभागी गराएर गरिएको यो कार्यक्रमले आज अहिल्यै नतिजा नदेखिए पनि दीर्घ कालमा भने पक्कै पनि राम्रो नतिजाका साथ राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने छ भन्ने विश्वास ब्यक्त गर्दै यस्तो राम्रो कार्यक्रम आयोजना गरि नेशनल प्याब्सनको उचाई बढाउनमा साथ दिइएकोमा कास्की जिल्लालाई केन्द्रिय अध्यक्ष हमालले विशेष धन्यवाद दिनुभयो ।
कार्यक्रमको अन्त्यमा सहभागीता जनाई विभिन्न तवरबाट सहयोग गरि कार्यक्रम सम्पन्न गर्न साथ दिने सबैलाई विशेष धन्यवाद दिंदै कार्यक्रमका अध्यक्ष अधिकारीले आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोग पाउँदै गर्दा कास्की जिल्लाले विद्यार्थीको चौतर्फी हितका लागि अझै धेरै यस्ता राम्रा कार्यक्रम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


