दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार, कार्यदलले पर्यटनमन्त्रीलाई बुझायो प्रतिवेदन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ८ गते, शुक्रबार ७:२१

७ पुस, काठमाडौं । नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार भएको छ । रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ ।

कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सन् २०२३ देखि २०३२ सम्म हरेक बर्ष सम्पन्न गरिने कार्यक्रमबारे उल्लेख गरिएको छ । नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०३२ सम्ममा ३५ लाख पुऱ्याउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्र पर्यटन क्षेत्रलाई कोरोना संक्रमणकाल भन्दा पूर्ववत अवस्थामा पुऱ्याउने कार्ययोजनामा उल्लेख छ । आगामी १० वर्ष भित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने कार्ययोजनामा उल्लेख छ ।

विश्वव्यापी कोभिड महामारीका कारण विगत तीन वर्षमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकोले दीर्घकालीन सोंच सहितको पुनरुत्थान आवश्यक भएकोले पर्यटन दशक (२०२३-२०३२) को अवधारणा ल्याइएको मन्त्री श्रेष्ठले बताउनुभयो । नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आवद्ध गर्ने साथै . पर्यटकीय सम्भाव्यताको आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ । पर्यटकहरुको आगमनलाई अभिबृद्धि गर्न हवाई सेवालाई थप ब्यवस्थित, नियमित र गुणस्तरीय बनाउँदै अन्य मुलुकका वायुयानहरुसँगको अन्तर सञ्जालमा आवद्ध गर्ने कार्ययोजनामा उल्लेख छ ।

पर्यटन प्रवर्द्धन र क्षेत्रको विकास गर्न सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सहकार्य एवम् साझेदारीमा बृद्धि गर्ने, आन्तरिक, क्षेत्रीय एवम् विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रभावकारी बजारीकरणका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने तथा नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार-प्रसार गरी प्रदेश सरकार र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा पर्यटनको लाभ स्थानीय समुदायसम्म पुग्ने कार्यक्रमहरु सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ ।

नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार गर्न पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । नेपाल पर्यटन दशकले विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्न सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु