
काठमाडौ ।हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको छ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव—पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रत कथा प्रचलन हुदै आएको मानिन्छ ।
घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर व्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरूको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममूलक पौराणिक धर्मग्रन्थ पनि हो।


