
काठमाडौँ । काठमाडौँको लैनचौरमा राष्ट्रिय एकता दिवस तथा ३०१ औँ पृथ्वीजयन्ती भव्यताका साथ मनाइएको छ ।
लैनचौर स्थानीयवासीको आयोजनामा आज विहान पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरी मनाइएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ समाजसेवी रम्बा रजकले विभिन्न राज्यमा विभाजित नेपाललाई सिङ्गो मुलुक निर्माणमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
“जसरी पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यलाई एकतावद्ध बनाउनुभयो त्यसरी नै हामीले समाजलाई एकतावद्ध बनाएर राख्न सके समाज र देशको विकास हुन सक्थ्यो,”– उहाँले भन्नुभयो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कामपा १६,१७ तथा २६ का अध्यक्षसमेत रहनुभएका रजकले राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सबै एकतावद्ध भयोभने समाज, वडा तथा देशको विकास हुने उहाँको भनाई थियो ।
कार्यक्रममा लैनचौर क्षेत्रका समाजसेवी शान्तराज महर्जन, विनोद सापकोटा, खड्गबहादुर नेपाली रजक तथा तेक्वान्डोका खेलाडी र स्थानीयबासीको सहभागीता रहेको थियो ।


