दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रतिनिधिसभाको सभामुख पदका लागि निर्वाचन आज हुँदै-

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ५ गते, बिहीबार ८:५०

बिहिबार, माघ ५, २०७९

काठमाडाैं । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले सभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । सभामुखको निर्वाचनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

झापा २ बाट निर्वाचित घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए । घिमिरेको मनोनयनलाई माओवादी प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका छन् । कैलालीबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद न्यौपानेलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले समर्थन गरेका छन् ।

सभामुख पदमा उम्मेदवारी दिँदै घिमिरेले आफू निर्वाचित हुने निश्चित भएको दाबी गरे । ‘निर्वाचित भइसकेपछि सभालाई प्रभावकारी ढंगबाट सञ्चालन गरेर अघि बढ्छु । विगतबाट शिक्षा लिएर राजनीतिक दलहरूको सहमतिका आधारमा सभालाई व्यवस्थित ढंगले सञ्चालन गर्ने सोच बनाएको छु । आरोप–प्रत्यारोप र पूर्वाग्रहभन्दा यथार्थपरक ढंगबाट चलाउने भूमिका रहन्छ । सभामुखको भूमिका तटस्थ हिसाबले निर्वाह गर्छु,’ उनले भने ।

विपक्षी गठबन्धनकी उम्मेदवार न्यौपानेले आफू विजयनजिक रहेको दाबी गरिन् । ‘विभिन्न दलहरूले मलाई समर्थन गरेका छन् । कति दलले समर्थन गरे भन्ने कुरा निर्वाचनपछि थाहा पाउनुहुन्छ,’ उनले भनिन् । आफू निर्वाचित भएपछि सबैको सभामुख हुने उनको भनाइ थियो । ‘सभामुख भएर सञ्चालन गर्न पाउँदा तटस्थ भएर सांसद र संसद्प्रति न्याय गरेर राम्रो हिसाबले चलाउनेछु,’ न्यौपानेले भनिन् ।

कांग्रेस महामन्त्री शर्माले न्यौपानेको अनुभव, शालीनता र सक्षमताले संसद्को गरिमा उच्च हुने जिकिर गरे । सांसदले विधि पु¥याएर मतदान गरे नेपालको संसद्ले फेरि महिला सभामुख पाउने अवसर रहेको उनको भनाइ थियो । एकीकृत समाजवादीका प्रमुख सचेतक ज्वालाले प्रतिपक्षी दलहरू सभामुख र उपसभामुखमा मिलेर लड्ने सहमतिअनुसार सभामुखमा कांग्रेसलाई समर्थन गरेको बताए । उपसभामुखमा उम्मेदवारी दिने विषय सभामुखको निर्वाचनपछि टुंगो लगाइने उनको भनाइ थियो ।

सत्तागठबन्धनमा अहिले माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टी छन् । यीमध्ये भागबन्डामा असन्तुष्ट जसपा सरकारमा गएको छैन । रोजेको मन्त्रालय नपाउँदा जनमत पार्टी पनि असन्तुष्ट छ । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षी बेन्चमै बसेको छ । गठबन्धनमा रहेका माओवादी ३२, एमाले ७९, रास्वपा २० र राप्रपा १४ गरेर एक सय ४५ मत सुनिश्चित छ । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत हाल्नेछैनन् । कर्तव्य ज्यान मुद्दामा फरार एमालेका लक्ष्मी कोइरी महतोले मत नहालेमा सत्तागठबन्धनका चार दलको मत एक सय ४३ हुन आउँछ । सभामुख चयन हुन तत्काल कायम रहेको दुई सय ७५ सदस्यको बहुमत अर्थात् एक सय ३८ संख्या आवश्यक पर्छ । सत्तागठबन्धनभित्र जसपा १२, जनमत ६ र नागरिक उन्मुक्ति पार्टीको चारजना गरेर २२ सदस्य भएका चार दल असन्तुष्ट छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु