
२७ माघ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले वकालत तथा पैरवी गर्दै आएका छन् । तर पनि अर्थपूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित हुन सकेको छैन । त्यसैले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित होस् भनेर अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंले गत ७ महिना देखि परियोजना संञ्चालन गरेको थियो । अपाङ्गता भएका महिला, दलित, लैङ्गिक एवं जातीय अल्पसंख्यक लगायतका व्यक्तपहरुको क्षमता अभिवृदि एवं पैरवी मार्फत उनीहरुको चुनावी उमेद्वारी नामक परियोजना मार्फत अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकारका सवालमा काम गर्दै आएको हो ।
यसै क्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंले हिजो विहिबार अर्थात माघ २६ गते CFLI/FCIL को सहयोगमा परियोजनाको उपल्बधी र सिकाइ आदान प्रदान कार्यक्रम काठमाडौंमा आयोजना गर्यो । सो कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंका महासचिव गणेश के.सी.ले परियोजनाको उपलब्धी र सिकाइ सम्बन्धी प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले यस परियोजना मार्फत राजनीतिकदलहरुलाई अपाङ्गताका सवालहरुको विषयमा जानकारी गराइएको, यी सवाल समावेश गर्नु पर्ने भनेर ज्ञापन पत्र बुझाईएको, निर्वाचन आयोग नेपालमा पनि अपाङ्गताक सवालहरु समावेश गरी ध्यानकर्षण पत्र बुझाइएको र केही सवालहरुलाई संवोधन पनि गरिएको बताउनु भयो ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका अध्यक्ष सुरेशचन्द्र न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई संवोधन गरी प्रत्येक राजनीतिकदलहरुमा समावेश गर्नका लागि अझै थप वकालत तथा पैरवी गर्नु पर्ने बताउनु भयो । यसै क्रममा उहाँले राजनीतिक नीति नियमहरु परिमार्जन गर्ने क्रममा अपाङ्गताका सवालहरुलाई अनिवार्य समावेश गर्नका लागि पहल गर्नु पर्ने कुरामा पनि जोड दिनु भयो ।
त्यसै गरी हिमोफिलिया सोसाइटी नेपालका पूर्व अध्यक्ष बेदराज ढुङ्गानाले अपाङ्गता भएक व्यक्तिहरु आवद भएका भातृसंगठनाहरुले पनि क्रियाशिल भएर अपाङ्गताका सवालहरु समावेश गर्न दवाब दिनु पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग संगठन नेपालकी उपमहासचिव निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरुलाई नै राजनीतिक अधिकारका विषयमा बुझाउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरु आवद् भातृसंगठनहरु तथा विभिन्न राजनीतिकदलक भातृसंगठनहरुमा अपाङ्गताका सवालहरु समावेश गर्न पहल गर्नु पर्ने बताउनु भयो । साथै उहाँले स्थानीय तह देखि नै अपाङ्गता भएका व्यक्तिहरुलाई संगठित तथा क्रियाशिल सदस्य दिनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा नेपाल बार एशोसिएशनका कानून विद जितेन्द्र बहादुर मडैले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि सबै एक जुट भएर आवाज उठाउनु पर्ने भन्दै यस विषयमा नेपाल बार एशेसिएशनका तर्फबाट नि:शुल्क कानूनी सेवा उपलब्ध गर्न तयार रहेको बताउनु भयो ।
साथै नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका व्यक्तिहरुक सवालहरुलाई राजनीतिक दलमा समावेश गर्नका लागि सबै कार्यक्रमहरु अपाङ्गता मैत्ती बनाइनु पर्ने, नागरिक समाज, राजनीतिकदलहरुले संवेदनशिल भएर सहयोग गर्नु पर्ने र यो अभियानमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंले हिजो राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघकी उपाध्यक्ष अनिता घिमिरेले अबको ५ वर्ष पछि आउने निर्वाचनमा ७ वटै प्रदेशबाट अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागीताका र प्रतिनिधित्वका लागि कार्ययोजना बनाइर काम गर्नु पर्ने बताउनु भयो । साथै उहाँले विभिन्न राजनीतिकदलहरुमा अपाङ्गता भएका व्यक्तिहरुको अनिवार्य सहभागीता गराउनका लागि पहल गर्दै उनीहरुलाई पनि प्रशिक्षण दिनु पर्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंका अध्यक्ष टेक बहादुर गुरुङ्गले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि सबै मिलेर सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने भन्दै सबैको सल्लाह सुझाबमो मनन गर्दै यस अभियानमा सधै आवश्यक सहयोग गर्ने बताउनु भयो ।


