
काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट आफू सधैको लागी बाहिरिएको घोषणा गरेका छन । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले नयाँ संस्था खोल्न लागेको र त्यो सँस्थामा हातेमालोका लागि आउन सम्पुर्ण कलाकारहरुलाई आह्वान समेत गरेका छन । वरिष्ठ लोकगायक बमबहादुर कार्की ,विष्णु खत्री,बैकुन्ठ महतलगाएतले राष्ट्रिय लोक तथा दोहोरीगीत क्षेत्रको हितको लागी नयाँ संस्था स्थापनाको तयारी अन्तिम अवस्थामा पुर्याएका छन । जनसवालसँग कुरा गर्दै वरिस्ठ गायक खत्रीले आफूहरु नयाँ संस्थाको विधान लेखनको अन्तिम चरणमा रहेको र आगामी महिना बृहत संस्था गठनको औपचारिक घोषणा गर्ने जनाउदै नामका बारेमा छलफल भइरहेको बताए ।उक्त संस्थाको अध्यक्षमा वरिस्ठ गायक कार्की रहनेछन भने महासचिवमा खत्री रहने सहमती भएको छ । वरिस्ठ कलाकार र विज्ञसहितका संगीतकर्मीलाई अन्य पदमा नियुक्त गर्ने तयारी भइरहेको खत्रीले बताए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा नयाँ नेतृत्वको लागि चुनावी गर्मागर्मीमा व्यस्त भइरहँदा अन्य वरिस्ठ कलाकारहरु नयाँ संस्था खोल्न तिब्र रुपमा जुटेका छन ।
‘प्रतिष्ठानको नेतृत्व स्याङ्जा र पाल्पा जिल्लाको मनोविज्ञानबाट माथि उठ्न नसकेको, संकीर्ण सोचले लोकदोहोरी क्षेत्रको विकास हुन नसकेकाले नयाँ संस्था खोलि तेस्मा लोकदोहोरी मात्र नभएर सबै संस्कृति क्षेत्रका व्यक्तित्वलाई समेट्ने तयारी गरेको खत्रीले बताए । प्रतिस्ठानका केही सिमित ब्यक्तिले सँस्थालाई घेराभित्र राखी मनोमानी गरेकाले अर्को सँस्था खोल्न वाध्य भएको खत्रीले बताए ।
प्रतिष्ठानको आसन्न महाअधिवेशन,आर्थिक घोटाला,मनोमानी र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको प्रतिस्ठानका पूर्वमहासचिव समेत रहेका खत्रीले बताए ।
खत्रीले आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले प्रतिस्ठानको यात्रामा पूर्णबिराम लगाएको बताएका छन ।
उनले कलाकारको हकहितको मुद्दा र संस्कृति जगेनार्थ आफू लागी पर्ने बताए । खत्रीले सबै कलाकार र संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिंदै नया सँस्थामा समाहित हुन सबैलाई आग्रह समेत गरेका छन ।
धादिङमा फागुन १२ गतेदेखि हुन लागेको प्रतिष्ठानको महाधिवेशनअघि आएको खत्रीको सँस्था छाड्ने निर्णयले प्रतिष्ठानको आन्तरिक राजनीतिमा तरंग सिर्जना गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा गायक बद्री पंगेनीले खत्रीको योगदानको प्रशंसा गर्दै उनलाई संस्थामै राखिराख्न प्रयत्न गर्ने बताएका थिए । उनले त्यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै खत्रीले संस्थाबाटै बाहिरिएको घोषणा गरेका छन।


