
१५ चैत्र २०७९शर्मिला विश्वकर्मा, काठमाडौँ
समुदायको विकासमा सबै सरोकारवालाको साझा धारणा र जिम्मेवारी रहेको कुरा सरोकारवालाले बताएका छन् । गुड नेर्वस इन्टरनेशनल नेपालले नेपालमा कार्य सुरु गरेको २० वर्ष पुगेको अवसरमा हिजो चैत १४ गते राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले नेपाल कोरोना कहरबाट पीडित भएको अवस्थामा विभिन्न विकासका साझेदार तथा गैर सरकारी संघसंस्थाहरुले जीवन रक्षाका लागि सहयोग प्रदान गरेकोमा धन्यवाद दिनुभएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालले विगत दुई दशकसम्म नेपालका विपन्न र सीमान्तकृत समुदाय तथा बालबालिकाको विकास र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई प्रशंसा गर्दै बालबालिकाका क्षेत्रमा लगानी गर्नु भनेको देशको समृद्धि चाहनु हो भन्दै आफ्नो धारणा राख्नु भएको छ ।
३२ वर्ष अघि दक्षिण कोरियाबाट सुरु भएको गुड नेवर्स इन्टरनेशनलको सामाजिक सेवाको अभियान नेपालमा पनि २० वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा समग्र नेपाली बालबालिकाको तर्फबाट श्रेय अधिकारीले गुड नेवर्स इन्टरनेशनलको सहयोगका कारण हामी जस्ता धेरै नेपाली बालबालिकाको जीवनमा शिक्षा, स्वास्थ्य, संरक्षणका सवालमा पुर्याकएको योगदान स्वरूप नै आज म जस्ता थुप्रै बालबालिका, किशोर किशोरीको जीवनमा सकारात्मक परिवर्तन भएको कुरा बताउनु भएको छ । नागरिक संघसङ्गठनका तर्फबाट किडार्कका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले मानवीय सहायता र विकासका लागि कार्यरत समाजमा रहेका विविध समस्यामा परेका,उपेक्षित, पिछडिएका तथा सीमान्तकृत वर्गका व्यक्तिहरूको जीवन स्तर उकास्नका निम्ति साझेदार संस्थाहरू मार्फत सहयोग प्रदान गर्दै आइरहेको कुरा बताउनु भएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. जयकान्त रावतले विकासका साझेदार संस्थाले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिवद्धताहरुलाई पूरा गर्न साथ र सहयोग गरिरहेको तर नेपाल सरकारको नीति, कार्यक्रमहरूलाई कार्यान्वयन गर्न पुर्या एको योगदानका विषयमा समीक्षा गर्दै अगाडि बढ्न जरुरी रहेको बताउँदै संस्थाको कामको प्रशंसा गर्नु भएको थियो । नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क चोङ सुकले नेपालका २२ जिल्लाका गरिब र सीमान्तकृत वर्गका बालबालिकाको सुनौलो भविष्यको लागि गुड नेर्वस इन्टरनेशनलले नेपालका नागरिक संघसङ्गठनहरुसँग हातेमालो गर्दै काम गर्दै आइरहेकोमा धन्यवाद र आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टले गुड नेवर्स इन्टरनेशनलले स्थापना कालदेखि नै समाज कल्याण परिषद्सँग स्वीकृति लिएर नेपाली बालबालिका र समुदायका जीवनमा सकारात्मक परिवर्तनका लागि काम गर्दै आइरहेकोमा खुसी व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका देशीय निर्देशक जे क्युङ रोले यस संस्थाले सफलता पूर्वक २० वसन्त पार गरेको उपलक्ष्यमा संस्थाले बालबालिकाको जीवनस्तर सुधार गर्न सीमान्तकृत, संकटाभिमुख समुदाय र विपन्न परिवारका बालबालिका लक्षित गरी २२ जिल्लाका ४३ हजार भन्दा बढी बालबालिका, उनीहरूको परिवार र समुदायको जीवन स्तर सुधार गर्न, बाल संरक्षण, शिक्षा, स्वास्थ्य, आयआर्जन, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रहरूमा कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको कुरा व्यक्त गर्दै सबैको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो ।
त्यसै गरी गुड नेवर्स इन्टरनेशनलले विगत २० वर्षको यात्रामा नेपाली बालबालिकाको जीवनको सकारात्मक परिवर्तनका निम्ति खेलेको भूमिकासँग सम्बन्धित रहेर किटिनी माध्यमिक विद्यालय गोदावरी ललितपुरका किशोर किशोरीले चेतनात्मक जागरणमुखी नाटक प्रस्तुत गर्नुभएको थियो ।


