रसुवा । जनयुद्धका बेला रसुवा र नुवाकोट जिल्लामा रहेर नेतृत्वदायी भूमिका खेलेका कम्युनिष्ट आन्दोलनका अगुवा नेता इन्द्रप्रसाद गौतम जगतजंगद्वारा लिखित ‘जनयुद्धमा रसुवा र नुवाकोट’ नामक पुस्तक बजारमा आएको छ ।
जनयुद्धका बेला रसुवा र नुवाकोमा भए गरेका गतिविधिहरूको ऐतिहासिक दस्तावेजको रुपमा रहेको पुस्तकको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन रसुवाले प्रकाशन गरेको हो । पुस्तकमा लेखकले जनयुद्धका क्रममा भएका विभिन्न घटनाहरूलाई सूक्ष्म ढंगले प्रस्तुत गरेका छन् । पुस्तकका बारेमा शुभकामना दिँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका छन् “प्रस्तुत पुस्तकमा यस क्षेत्रमा मानवजातिको उत्पत्ति तथा विकासको ऐतिहासिक भौगोलिक, राजनीतिक, सांगठनात्मक, सांस्कृतिक, आर्थिकका साथै यस क्षेत्रको जनसंख्या, सामाजिक जनजीवन, विचारधारात्मक स्थिति, उपलब्धि र समस्याहरूका बारेमा माक्र्सवादी ढंगले चर्चा गरिएको छ । उत्पीडित जनसमुदायको बाहुल्य रहेको रसुवा र नुवाकोटमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण र जनयुद्धलाई क्रमभङ्गताका रुपमा नयाँ उचाईमा उठाउन नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’ को स्थापित र उर्जाशील नेतृत्वले खेलेको भूमिकाको पुस्तकमा उच्च मूल्यांकन गरिएको छ ।”
पुस्तकमा जनयुद्धमा रसुवा र नुवाकोट, मानव विकाससम्बन्धी केही ऐतिहासिक तथ्य, शब्द चित्रमा रसुवा र नुवाकोट माओवादीको संगठनात्मक स्थिति, संयुक्त संगठनात्मक स्थिति, जनसेना, रसुवा र नुवाकोटबाट जनसेनामा सहभागिता, क्रान्तिकारी संयुक्त मोर्चा, संयुक्त क्रान्तिकारी जनपरिषद् रसुवा र नुवाकोटको दोस्रो जिल्ला सम्मेलनमा प्रस्तुत प्रतिवेदन, प्रेस विज्ञप्ति, जनवर्गीय संगठन र मोर्चा, अन्य राजनीतिक पार्टीहरु, जनयुद्धको पहिलो योजनादेखि १६ औं योजनासम्मका गतिविधि, राजनैतिक आन्दोलनका उपलब्धि र सीमाहरु, कुटनीतिक संघर्ष, जनयुद्धको प्रभाव एवम् जनयुद्धका क्रममा भएका मृत्यु, बेपत्ता र घाईहरूको विबरण प्रस्तुत छ ।
दुईसय ६४ पृष्ठको यो पुस्तकको साधारण मूल्य तीनसय रहेको छ भने संस्थागत मूल्य एक हजार रुपैयाँ रहेको छ । रसुवा र नुवाकोट जिल्लामै यसरी पार्टीका गतिविधिहरू तथा घटनाक्रमलाई समेटेर दस्तावेजको रुपमा प्रकाशित यो पहिलो कृति हो ।