
९ वैशाख २०८० काठमाडौँ, शर्मिला विश्वकर्मा
देशको असल नागरिक उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता हुन्छ भने यसका लागि शिक्षाका अवरोधहरू हटाउन शिक्षकहरूलाई गुणस्तरीय सीप प्रदान गर्न जरुरी हुन्छ । नेपालमा गुणस्तरीय शिक्षा उत्पादनका लागि शिक्षाको क्षेत्रमा कार्यरत नेपाल शिक्षक संघ ( NTA ), नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (NNTA ) र संस्थागत विद्यालय शिक्षक युनियन (ISTU ) अन्तर्राष्ट्रिय संस्था Education international सँग आवद् सदस्य युनियनका रूपमा शिक्षकको विकासको लागि काम गरिरहेका छन् ।
यी युनियनहरूले Education International Finish Education Union र Finish Trade Unions सँगको सहकार्यमा शिक्षा, शिक्षा प्रदान गर्ने शिक्षकहरूको हक हित, नेतृत्व विकास, सेवा सुविधा उपलब्ध गराउन पहल तथा पैरवीका सवालमा काम गर्दै आएको छ । यसै सन्दर्भमा Union initiation for Trade Union And Education Rights ( UNITE) ले हिजो वैशाख ८ गते शुक्र बारका दिन काठमाडौँमा शैक्षिक परिवर्तनका निम्ति एसिया प्यासिफिक Asia Pacific मा शिक्षकहरूको भूमिका विषयमा विभिन्न सञ्चार माध्यममा आवद् सञ्चारकर्मीहरूसँग छलफल गरेका छन् । यी युनियनहरूले सबै बालबालिकाहरूको शिक्षाको अधिकार सुनिश्चित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयलाई प्रविधि मैत्री बनाउन, निजी लगानीमा सञ्चालित विद्यालयका शिक्षकहरूको पारिश्रमिकलाई सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू सरह बनाउने, सामाजिक सुरक्षा कोष दर्ता गराउने लगायतका विषयमा छलफल भएको थियो ।
सो छलफलमा राष्ट्रिय शिक्षक सङ्गठनका (NNTA) महासचिव हं बहादुर शाहीले प्रेस विज्ञप्ति पढ्दै प्रसूति विदाको समयमा वैकल्पिक शिक्षकको व्यवस्था गर्नु पर्ने, आपतकालिन अवस्थामा सुरक्षाको तयारी गर्नु पर्ने, यी युनियनहरूको अभियानले ट्रेड युनियन अधिकार, लैङ्गिक समानता, कमजोर समूहहरूको गैर भेदभाव, वातावरणीय सङ्क्रमण लगायत सामाजिक सुरक्षालाई पनि सम्बोधन गर्ने उपयाहरु अपनाउनु पर्ने बताउनु भयो ।
यसै क्रममा एजुकेशन खबर अनलाइन मिडियाका सञ्चारकर्मी लक्ष्मी प्रसाद ढकालले गुणस्तरीय शिक्षाको विषयमा प्रस्ट हुनु पर्ने, शिक्षाका सवालमा, शिक्षकहरूका चुनौती, आवश्यकता लगायतका विषयमा समय समयमा सञ्चारकर्मीहरूसँग निरन्तर छलफल गर्न जरुरी रहेको बताउनु भयो ।
त्यसै गरी हिमाल प्रेसका सञ्चारकर्मी विपिन पोखरेलले के कारणले विद्यार्थीहरूले विद्यालय छोड्नु र शिक्षकहरूले पनि शिक्षक पेसा छोडेर पलायन हुनुको कारणको खोजी हुनु पर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नु पर्ने बताउनु भयो ।
सो छलफलमा गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादक शेषकान्त पण्डितले यस युनियनहरू मार्फत पढाउने क्रममा शिक्षकहरूले भोग्न परेका चुनौतीहरू, उनीहरूका अधिकार, राज्यले उपलब्ध गराउनु पर्ने आवश्यक सेवा सुविधहरु र गुणस्तरीय शिक्षाका लागि अब के गर्नु पर्दछ भन्ने विषयमा लेख रचनाहरू लेखेर विभिन्न सञ्चार माध्यमहरू मार्फत प्रकाशन तथा प्रसारण गर्नु आग्रह गर्नु भयो ।
त्यसै गरी नेपाल राष्ट्रिय शिक्षक संघगठन NNTA, का राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारीले गुणस्तरीय शिक्षा प्रदान गर्न सहज होस् भनेर साङ्गठनिक अभियानका रूपमा शिक्षकहरूलाई तालिम प्रदान गरिएको, उनीहरूको सीप विकास, हक हित र शिक्षाका लागि वकालत तथा पैरवी गर्दै आएको पनि बताउनु भयो ।
यसै क्रममा नेपाल राष्ट्रिय शिक्षक संघगठन NNTA का राष्ट्रिय उपाध्यक्ष Education international का सदस्य Asia Pacific Region का सदस्य कमला थापाले शिक्षा तथा शिक्षकहरूका लागि काम गर्ने संघ संस्था तथा युनियनहरूमा ५० प्रतिशत महिलाहरूको सहभागिता हुनु पर्ने, नीति निर्माण तहमा लैङ्गिक समानता र विभेदका सवालमा वकालत तथा पैरवी गर्नु पर्ने, प्राथमिक आत्मरक्षाको तालिम दिनु पर्ने कुरामा जोड दिनु भयो ।
शैक्षिक परिवर्तनको निम्ति Asia Pacific मा शिक्षकहरूको भूमिका विषयमा सञ्चारकर्मीहरूसँग गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियन ISTU का राष्ट्रिय अध्यक्ष होमकुमार थापाले शिक्षक तथा शिक्षकहरूका सवालहरूलाई विभिन्न सञ्चार माध्यमहरू मार्फत सार्वजनिक करण गर्नु पर्ने, उनीहरूको हक हित र अधिकार स्थापित गर्नका लागि सरोकारवाला निकायहरू तथा सञ्चार माध्यमहरूको साथ, सहयोग र सल्लाह तथा सुझाव जरुरी रहेको बताउनु भयो । साथै उहाँले बालबालिकाहरूलाई शिक्षामा राज्यले लगानी गर्नु पर्ने कुरामा जोड दिँदै सार्वजनिक शिक्षालाई बलियो बनाउनको लागि पनि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नु पर्ने पनि बताउनु भयो ।


