
१० वैशाख २०८० शर्मिला विश्वकर्मा, ललितपुर
दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जले हिजो जेठ ९ गते आफ्नो प्रसारण सेवाको २६ औ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । रेडियो सगरमाथा एफ.एम. १०२ थोप्लो ४ मेगाहर्जले २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश गरेको हो । सो अवसरमा रेडियो सगरमाथाले हिजो जेठ ९ गते वार्षिक उत्सव कार्यक्रम आयोजना गर्यो ।
यस अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालले शुभकामना सन्देश मार्फत रेडियो सगरमाथालाई सामुदायिक रेडियो मध्येकै सम्पदाको रूपमा संरक्षण तथा विकास गर्न सकिन्छ भन्ने महसुस गरेको बताउनु भयो । प्रधानमन्त्रीले सन्देशमा नेपालमा सामुदायिक रेडियो प्रसारणको केन्द्रको रूपमा रेडियो सगरमाथा अध्ययनको थलो तथा उदाहरणको रूपमा प्रस्तुत गर्ने गरी अघि बढाउने पहलमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवं नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियोका रूपमा स्थापित रेडियो सगरमाथाले आमसञ्चारका माध्यमबाट सर्वसाधारणमा जनचेतना फैलाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका भन्दै आगामी दिनमा समयानुकुल र समाजको आवश्यकता अनुसारका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जले हिजो जेठ ९ गते आफ्नो प्रसारण सेवाको २६ औ वर्ष पूरा गरी २७ औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिकाका उप–प्रमुख मञ्जरी शाक्य बज्राचार्यले स्थानीय स्तरका सवालहरूलाई रेडियो सगरमाथाले उठान गर्दै आइरहेको बताउनुभयो । उहाँले वातावरण तथा सामाजिक विषयवस्तुलाई बढी जोड दिइरहेकाले महानगर रेडियो सगरमाथासँग आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
त्यसै गरी सञ्चार सचिव कृष्णबहादुर राउतले रेडियो सगरमाथाबाट प्रसारित कार्यक्रमबाट ज्ञानगुनका साथै सूचना मूलक सन्देश प्राप्त गर्न सकिने भएकाले यसको विश्वसनीयतामा शङ्का गर्नु पर्ने ठाउँ नरहेको स्मरण गर्नु भयो । साथै उहाँले बन्दै गरेको आमसञ्चार विधेयकमा सामुदायिक रेडियोका सवालहरूलाई समावेश गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले सञ्चार जगतका समस्या समाधानका लागि अभिभावकीय भूमिका खेल्न नसकेको गुनासो गर्दै राज्यको अवस्था देखि व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको भूमिकालाई बिर्सिन नहुने बताउनु भयो । साथै उहाँले रेडियो सगरमाथा सबै रेडियोहरूका लागि सिकाइको केन्द्रका रूपमा रहेको धारणा व्यक्त गर्नु भयो ।
त्यसै गरी वरिष्ठ पत्रकार भैरव रिसलाले जस्तो सुकै परिस्थितिमा पनि रेडियो सगरमाथाले आफ्नो प्रसारण सेवालाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
त्यसै गरी रेडियो सगरमाथाका स्टेसन म्यानेजर उर्वशी बस्न्यातले सामुदायिक रेडियोहरूलाई प्रविधिको विकाससँगै समय सापेक्ष ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले विगत लामो समय देखि सगरमाथा एफ.एम.ले वातावरण र दिगो विकासका सवालमा आफ्ना कार्यक्रमहरू केन्द्रित गरिरहेको स्मरण गर्दै आगामी दिन अझै सशक्त ढङ्गले काम गर्ने प्रतिवद्धता जनाउदैं शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।
२७ औ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न माध्यमबाट यस रेडियोलाई अगाडि बढाउनका र समुदायको लोकप्रिय बनाउनका लागि आ-आफ्नो स्थानबाट महत्त्वपूर्ण योगदान दिनु हुने ९६ वर्षीय अग्रज तथा वरिष्ठ पत्रकार भैरव रिसाल सहित १३ जनालाई सम्मान पनि गरिएको थियो ।
नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष रोशनी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौर, सामुदायिक रेडियो प्रसारक संघका पूर्व अध्यक्ष सुवास खतिवडा, अमार्कका प्रतिनिधि सुमन बस्नेत, व्यङ्ग्यकार कृष्ण मुरारी गौतम (चट्याङ्ग मास्टर), सञ्चारिका समूहका अध्यक्ष विमला तुमखेवा, सिआईएनका व्यवस्थापक दिपक आचार्य लगायतले रेडियोको सफलताको शुभकामना दिनु भएको थियो ।


