
काठमाडौं – जेष्ठ २२, सेन्ट जर्ज स्कुल, हाडीगाउँमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, ब्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा प्रकृति तथा वातावरण क्लबको आयोजनामा विश्व वातावरण दिवस मनाइएको छ ।

जुन महिनाको ५ तारिखका दिन विश्वव्यापी रुपमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाइन्छ । यसपालि “Beat Plastic Pollution” अर्थात् प्लास्टिक प्रदूषण विरुद्ध लागौँ भन्ने नाराका साथ विश्वभर कार्यक्रम गरिएको छ । विश्वभर हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छ । जस मध्ये ५० प्रतिशत प्लास्टिक केवल एक पटक मात्र प्रयोग गर्न मिल्ने गरि बनाइएको हुन्छ । यसले गर्दा अहिले विश्वमा प्लास्टिक प्रदूषणले आक्रान्त गरिरहेको छ । त्यसैले विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको कुरा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहाल विद्यार्थी भाईबहिनीहरुलाई जानकारी गराए ।
यो महत्वपूर्ण दिनबाट बालबालिकाले सकभर पलास्टिक प्रयोग नै नगर्ने र प्रयोग गर्नै परे पनि जताततै नफाल्न विद्यालयका प्र.अ. मेघराज बजगाईले विद्यार्थीहरुलाई अनुरोध गरे । विद्यालयका विद्यार्थीहरुलाई नजिकै रहेको मन्दिर र चौरमा लगि बालबालिकालाई सफा गर्न लगाइएको थियो । बालबालिकाले विभिन्न नारा लेखेका ब्यानर बोकेका थियो। ब्यानरमा लेखिएका नाराले समाजमा सकारात्मक सन्देश दिने खालका थिए ।
यसरी बालबालिकालाई सरसफाइमा प्रत्यक्ष सहभागी गराउँदा व्यवहारिक ज्ञान मिल्ने र बालबालिका फोहर प्रती सचेत पनि रहने भएकाले यसरी प्रत्यक्ष सहभागी गराइएको कुरा विद्यालयकी शिक्षिका गायत्री बुढाथोकीले जानकारी दिइन । सेन्ट जर्ज स्कुलले हरेक वर्ष यस्ता कार्यक्रमहरु गर्ने गर्छ । यसले बालबालिकामा सकारात्मक सोचको विकास हुनेछ । अब हामी सबै लागेर जताततै पलास्टिक नफाल्न र सकभर प्रयोग नै नगर्न सबैलाई अनुरोध गर्नु पर्ने समय भइसकेको छ ।


