“बलात्कारी समात्न नसक्ने सरकारले अरु के काम गर्छ ?”
कात्तिक १३, काठमाण्डौ ।राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद महेन्द्र राय यादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।
सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको जिकिर गरे ।
“संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ ।”–यादवले भने ।
राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन नसक्ने उनको भनाई थियो ।
सरकार अलमल र द्धिविधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमा पनि सरकार असफल भएको आरोप लगाए ।
प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधा पुर्याएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको जिकिर गरे ।
प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाब दिएको जानकारी दिदै उनले संघले तत्काल आवश्यक कानुन बनाएर प्रदेशलाई दिनुपर्ने माग गरे । “बलात्कारी समात्न नसक्ने सरकारले अरु के काम गर्छ ?” यादवले प्रश्न गरे ।