
शर्मिला विश्वकर्मा
काठमाडौ ।कुनै पनि कारणले मेरुदण्डमा चोट लागेर हिड्डुल गर्न कठिनाइ हुने, चोट लागेको ठाउँबाट तलको शरीरको भाग वा अङ्गहरूले काम नगर्ने, दिसा पिसाब व्यवस्थापनमा चुनौती हुने अवस्था नै मेरुदण्ड पक्षघात अपाङ्गता हो । मेरुदण्डमा चोट लागिसके पछि अधिकांश व्यक्तिहरूको चोट लागेको भागबाट तलको भाग पूर्ण वा आंशिक रूपमा नचल्ने, हिँड्न नसक्ने, छोएको पनि थाहा नहुने, दिसा पिसाब व्यवस्थापन नहुने लगायतका समस्याहरू हुन सक्छन् । यस्तो अवस्थामा अधिकांशले हिड्डुलका लागि ह्विलचियर प्रयोग गरेको पाइन्छ । साथै दिसा पिसाब निकाल्नको लागि पनि विभिन्न समाग्रीहरु प्रयोग गर्नु पर्ने हुन्छ ।
मेरुदण्ड पक्षघात भैसके पछि व्यक्ति स्वयम आफैले दिसा पिसाब आफैले व्यवस्थापन गर्न सकुन्, सरसफाइमा ध्यान दिउन्, आफ्नो स्वास्थ्यका विषयमा सचेत हुन भन्ने उद्देश्यले हिजो असार २७ गते बुधवार स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले काठमाडौँमा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वयम् हेरचाह र दिसा पिसाब व्यवस्थापनका सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्योम ।
एविलिज फाउन्डेसनको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा DPOD का नेपाल प्रतिनिधि रेणु लोहनीले अन्य अपाङ्गता भएका व्यक्तिहरूको तुलनामा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै समस्याहरू हुने र ती समस्याहरूको समाधानका लागि सरोकारवाला निकायहरूको ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भयो । यसै गरी उहाँले अबका दिनमा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूलाई छुटै वर्गीकरण भित्र राख्नु पर्ने, उनीहरूको स्वास्थ्य उपचार, सरसफाइ, हेरचाह, दिसा पिसाब व्यवस्थापन लगायतका विषयमा स्वयम् व्यक्तिहरूलाई समय समयमा तालिम दिनु पर्ने र उनीहरूको हक, हित र अधिकारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्दै यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
त्यसै गरी एविलिज फाउन्डेसनका राष्ट्रिय संयोजक डा.विरेन्द्ररज पोखरेलले स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाका बारेमा सबैले जानकारी पाउनु पर्ने, उनीहरूको स्वास्थ्य
उपचारका लागि नेपाल सरकारले विभिन्न समयमा गरेको निर्णय तथा व्यवस्थाको पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायहरूको ध्यान केन्द्रित गराउनु पर्ने बताउनु भयो । साथै उहाँले सार्वजनिक स्थल, भवन, सेवा दिने निकायहरू, फुटपाथहरू ह्विलचियर मैत्री बनाउनका लागि पैरवी गर्नु पर्ने भन्दै सन् २०२४ मा पेस गरिने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको छाया प्रतिवेदनमा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको स्वयम् हेरचाह तथा दिसा पिसाब व्यवस्थापनका विषयमा जानकारी गराउने, सिकाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रका मेडिकल निर्देशक डा. राजु ढकालले स्पाइनल कर्ड इन्जुरीका विषयमा जानकारी दिँदै स्पाइनल कर्ड इन्जुरीका विभिन्न विषयहरूमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले मेरुदण्डका हड्डीहरू मध्ये कुन कुन भगमा चोट लागेमा कस्तो समस्या हुने र व्यवस्थापनका लागि के के गर्न सकिन्छ भनेर जानकारी गराउनु भयो ।
त्यसै गरी विभिन्न दुर्घटना र रोगका कारणले पनि मेरुदण्ड पक्षघात हुन सक्ने भन्दै यदि दुर्घटना भएमा अस्पतालमा ल्याउने तरिका, अस्पतालमा उपचार र व्यवस्थापनका तरिका, आवश्यक सहयोगी सामग्री, स्वास्थ्य सम्बन्धी सामग्रीका विषयमा पनि प्रस्ट पार्नु भयो । साथै उहाँले स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र साँगाले विभिन्न समयमा गरेको अध्ययन अनुसार २०/२२ देखि ४०/४५ सम्मका उमेरका व्यक्तिहरू बढी मेरुदण्ड पक्षघात हुने र यसमा पनि ७० प्रतिशत पुरुष र २५ प्रतिशत महिला हुने गरेको बताउनु भयो । यसै गरी उहाँले राज्यले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क पत्ता लगाउनु पर्ने र राज्यको सूचना प्रणाली भित्र उनीहरूको विवरण राख्न सबैले पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै अधिकांश व्यक्तिहरू मेरुदण्ड पक्षघात अपाङ्गता भए पछि बेड सोर हुने सम्भावना बढी हुने हुँदा विशेष ध्यान दिनु पर्ने, छालाको राम्रो स्याहार गर्नु पर्ने, दिसा पिसाब व्यवस्थापन गर्ने तरिका सिक्नु पर्ने, विशेषज्ञहरूको सल्लाह सुझाव लिनु पर्ने, जसरी सहज हुन्छ त्यसै गरी शारीरिक अभ्यास गर्नु पर्ने पनि बताउनु भयो ।
स्पाइनल कर्ड खेलकुद संघले एविलिज फाउन्डेसनको सहयोगमा आयोजना गरेको मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको स्वयम् हेरचाह तथा दिसा पिसाब व्यवस्थापन सम्बन्धीको कार्यक्रम मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्ति सविन थापाले विद्यालय स्तरमा मेरुदण्ड पक्षघात अपाङ्गताको विषयमा पढाइनु पर्ने र परीक्षामा पनि यस विषयमा प्रश्नहरू समावेश गर्ने व्यवस्था भएमा सबैलाई मेरुदण्ड पक्षघात अपाङ्गताको विषयमा जानकारी हुने बताउनु भयो ।
यस कार्यक्रममा आयोजक संस्था स्पाइनल कर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको विषयमा समाजमा सबैलाई जानकारी गराउनु पर्ने, उनीहरूलाई आफ्नो स्याहार सुसारका लागि के कस्ता उपयाहरु अपनाउनु पर्ने भनेर सचेत हुनु पर्ने, दिसा पिसाब व्यवस्थापनका विषयमा चासो राखी विशेषज्ञयहरुसँग जानकारी लिनु पर्ने र उक्त जानकारीको उपयोग पनि गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै यस कार्यक्रममा प्रस्तुतीकरणका क्रममा गराइएका जानकारीहरूलाई उपयोग गर्न पनि आग्रह गर्नु भयो । यस कार्यक्रममा २० जना मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


