
काठमाडौं:गैर आवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औं महाधिवेशनमा हालका महासचिव डा. केशव पौडेलले उम्मेदवारी दिने बताएका छन । हालै एनआरएनए क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यहरुबाट सुझाव आएकाले आफूले संस्थाको नेतृत्व गर्ने सोच बनाएको र छिट्टै एक कार्यक्रम गरेर उम्मेदवारी सार्वजनिक गर्ने बताए ।
आफूले शुरुदेखि नै अघि सारेको नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भए पनि डा। पौडेलले नेपाली नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन । हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीयहरु बञ्चित भएको अवस्था छ । विभिन्न ठूला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर जाने पौडेलले बताए । संस्था ठूलो भएकाले भद्दा र नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि पौडेलले एजेण्डा बनाएका छन । यसका अलावा विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा मुखर भएर लाग्ने योजना पनि पौडेलले बताएका छन ।
विभिन्न देशका राष्ट्रिय सम्मेलन सकिइसकेका बेला व्यवसायिक चिकित्सा पेसासँगै एनआरएनए अभियानमा महत्वपूर्ण समय दिएका पौडेलको नेतृत्व दौडलाई धेरै अगुवाले सकारात्मक हेरेका छन । अमेरिकामा कार्यरत पौडेललाई त्यहाँबाट ठूलो समर्थन मिलेको छ । यस बाहेक धेरै मतदाता भएका युरोपेली तथा अष्ट्रेलिया सँगै साना देशबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले पौडेल आशाावादी छन ।
एनआरएनएको आगामी अधिवेशनको लागी उनीसँगै आरके शर्मा,महेश श्रेस्ठ,हालका अध्यक्ष बद्री केसी र रविना थापाले उम्मेदवारी दिने बताइसकेका छन ।


