
५ भदौ २०८० शर्मिला विश्वकर्मा, ललितपुर
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि नै सिड (CEDAW) हो । यो सन् १९७९ को डिसेम्बर १८ मा महासभाद्वारा पारित भएको महासन्धि हो । यसै महासन्धि र अपाङ्गता भएका महिलाहरूको सवालमा हिजो भदौ ४ गते सोमबार साथी संस्थाको आयोजनामा र नेपाल अपाङ्ग महिला संघको समन्वयमा काठमाडौँमा एक छलफल कार्यक्रमको आयोजना गरियो । सो छलफलमा सिड (CEDAW) कमिटीका उपाध्यक्ष वन्दना राणाले सिड (CEDAW) को बारेमा जानकारी गराउँदै अपाङ्गता भएका महिलाहरूको अवस्थाको विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले सिड (CEDAW) लाई संयुक्त राष्ट्र सङ्घका १८९ सदस्य राष्ट्रहरूले अनुमोदन गरेको, यस महासन्धिमा २३ जना सदस्य निर्वाचित हुने र नेपालले सन्१९९१ को अप्रिल २२ तालिका अर्थात् वि.सं.२०४८ साल चैत ५ गते अनुमोदन गरेको पनि जानकारी गराउनु भयो ।
त्यसै गरी उहाँले यस महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि सिड (CEDAW) मा ३० वटा धाराहरू रहेको र १ देखि १६ सम्मको धाराले विषयसँग सम्बन्धित र १७ देखि ३० सम्मको धाराहरूले प्रशासनिकसँग सम्बन्धित रहेको पनि बताउनु भयो । सिड (CEDAW) का प्रत्येक धाराहरूले अपाङ्गता भएका महिलाहरूका सवालहरूलाई पनि संवोधन गर्ने भन्दै उहाँले सिड (CEDAW) को प्रतिवेदन बुझाउने क्रममा अपाङ्गता भएका महिलाहरूको शिक्षा, स्वास्थ्य, विभिन्न प्रकोप तथा विपतका समयका अवस्थाहरूलाई समावेश तथा संशोधन गर्नु पर्ने कुरालाई जोड दिनु भयो । साथै उहाँले अपाङ्गता भएका महिलाहरूका लागि अपाङ्गता अनुकूलको संरचना, अर्थपूर्ण सहभागिता, न्यायमा पहुँच लगायतका सवालहरूलाई समावेश गर्न छलफल गरी सुझाव दिनु हुन आग्रह गर्नु भयो ।
सो अन्तरक्रिया कार्यक्रममा सहभागी अपाङ्गता भएका महिलाहरूको ६ वटा समूह बनाएर सिड (CEDAW) मा उल्लेख गरिएका धारा २ को लैङ्गिक भेदभाव र उन्मुलन, धारा ३ को विशेष अधिकार संयन्त्रहरूको व्यवस्था, धारा ४ को अस्थायी विशेष अधिकार संयन्त्रहरू, धारा ५ को महिला माथि हुने हिंसा र रुढीगत भूमिकामा आधारित दुराग्रही व्यवहार, धारा ६ को बेचबिखन तथा शोषण विरुद्धको अधिकार लगायतका धाराहरूको समस्या र समस्या समाधानका विषयमा छलफल गरियो ।
उक्त कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले सबै प्रकारका अपाङ्गता भएका महिलाहरूको विषयमा छलफल गरी सिड (CEDAW) प्रतिवेदनका लागि आवश्यक सुझाव दिनु पर्ने बताउनु भयो ।


