
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत–नेपालले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित नगराउन सरकारसँग माग गरेको छ ।
आईतवार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खाहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेको हो । अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोर्खालीहरुको चल अचल सम्पती पूूर्ण रुपमा पलायन हुने बताउनु भयो । संयोजक तामाङले गोरखालीहरु अपराधी हो ? भन्दै गोर्खालीहरुको नागरिकता खोस्नु अन्यायपूर्ण हुने बताउनु भयो । उहाँले ब्रिटिस गोरखालीका सन्तानहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने भन्दै गोर्खाहरुले बेलायत बस्न पाउँ भनेर कहिल्यै माग नराखेको स्मरण गराउनु भयो ।
संयोजक तामाङले भन्नुभयो, ‘ब्रिटिस गोरखालीहरु हुन् । उनीहरु बेलायत बसिरहेको अवस्था छ । उनका साखा सन्तानहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ भन्ने माग राखेका छौं । हामी र ब्रिटिस गोरखाका सन्ततीहरुको नेपालको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ । यो मागलाई हामीले नेपालको संविधान २०७२ को निर्माण देखिनै उठाउँदै आएका हौँ । आज आठ वर्ष भएको तर, खासै केही भएन । ब्रिटिस गोरखाहरुको पेन्सनमात्रै बर्वोनी २० देखि २२ अर्ब नेपालमा प्रवेश गर्छ । यदी गोरखालीहरुलाई विदेशी बनाउने हो भने यो २० देखि २२ अर्ब पैसा पलायन हुन्छ । हामीले वर्षौंदेखि नेपाली नागरिकताको निरन्तरता माग गरिरहेका छौं । यो नेपालबाट गलत भएको छ । नेपाली नागरिकताको निरन्तरता नपाए ती गोर्खाहरुको चल अचल सम्पती पूूर्ण रुपमा पलायन हुन्छ । यो हो भने नेपालको लागि ठूलो क्षती हुन्छ । र, दक्ष जनशक्तीपनि पलायन हुन्छ । गोरखालीहरुलाई नेपाली नागरिकता निरन्तरता पाउनुपर्छ । गोरखाहरुले बेलायत बस्न पाउ भनेर कहिल्यै पनि माग राखेन । बेलायत सुरक्षित र समृद्ध हुनुमा गोरखालीहरुको ठूलो भुमिका छ । यसको लागि गोर्खाहरुले ज्यान दिए सबै चिज दिए । गोरखालीहरु बेलायतमा बस्न पाउनुपर्छ, यो अंग्रेजको मात्र देश होइन । गोरखालीहरुको पनि देश हो । ’
उहाँले दुई सय वर्षदेखि बेलायतमा गोरखालीहरु कार्यरत रहेको बताउनु भयो ।


