
मकवानपुरको हेटौंडामा बागमती प्रदेश सरकार अन्तरगत बागमती प्रदेश दुग्ध विकास बोर्डको लगानीमा बन्दै गरेको धुलो दुध कारखानाको परिक्षण सकिएको छ। विगत ३ वर्ष पहिला धुलो दुध उत्पादन गर्ने उद्योग स्थापना गर्न शुरु गरिएको थियो । ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध उद्योग संचालकमा आउने अब भने पक्का पक्की भयो ।
किसानले उत्पादन गरेको दुध बिक्री नभएर बढी भएको समय पाउडर दुध बनाएर राख्ने गरिन्छ । अनि नपुगेको बेला बजारको माग धान्न यहि पाउडर प्रयोग गरिन्छ । किसान र उद्योगले समस्या झेल्दै आएको समय प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगत बागमती प्रदेश दुग्ध विकासको विशेष पहलमा धुलो दुध बनाउने पाउडर दुध उद्योग निर्माण कार्य अघि बढाएको थियो ।
धुलो दुध उद्योग निर्माणका लागि २०७७ पुस १ गते इजी इन्फा प्रालि काठमाडौँले निर्माण सम्झौता गरी निर्माण अगाडि बढाएको थियो। तर विविध कारण एक वर्षमा तयार गर्ने भनिएता पनि निर्माण कार्य भने ३ वर्ष लागेको छ । संघीय सरकार मातहतको दुग्ध विकास आयोजनाको पशु आहार उत्पादन उद्योगको २ बिघा क्षेत्रफलको जग्गामा यो उद्योग स्थापना गरिएको छ । अहिले परीक्षण काम लगभग सकिएको अवस्थामा छ ।
दुग्ध उद्योगको र किसानको समस्या हल गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगमा धुलो दुध उत्पादन परीक्षण, हस्तान्तरण र अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको र अब केहि मात्रामा भए पनि बागमती प्रदेशका १३ जिल्ला र आसपासका जिल्लालाई सहज कुने कुरा बताउँदै केही दिनमै धुलो दुध उत्पादन पूर्ण रुपमा परिक्षण भई हस्तान्तरण हुने कुरा बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले बताए ।
बागमती प्रदेश दुग्ध विकास बोर्डका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो उद्योगको लागत अहिले ४७ करोड पुगेको छ । प्लान्ट सञ्चालनमा आएपछि कृषकहरूबाट दुध संकलन गरी प्रशोधन गरि पाउडर दुध उत्पादन गरिने छ । अहिले उद्योगको क्षमता दैनिक ५ मेट्रिक टन पाउडर दुध उत्पादन गरिने रहेको छ । उद्योग संचालनका लागि बागमतीका १३ जिल्ला, मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँ लगायतका जिल्लाबाट दुध आयात हुने देखिन्छ । उक्त प्लान्ट सञ्चालनमा आएपछि करिब २५ हजार कृषक परिवार लाभान्वित हुने दैनिक ६० हजार लिटर दुधको
पाउडर दुध बन्न सक्नेछ ।
उद्योग स्थापनाको अन्तिम चरणमा पुगेसँगै सञ्चालनको विषयमा पनि बोर्डले धेरै पटक छलफल अघि बढाएको छ । तर अन्तिम निष्कर्ष भने आएको छैन । सहकारी, निजि र दुग्ध विकास बोर्डले साझा मोडल बनाई संचालन गरिने कुरामा सकारात्मक छलफल रहेको छ । उद्योगका लागि चाहिने जनशक्ति, लागत रकम, सञ्चालनको मोडल लगागतका विषयमा पनि छलफल चलिरहेको छ । तत्कालको अवस्थामा दुग्ध विकास संस्थानलाई नै उद्योग चलाउन दिने र नितिगत रुपमा संचालन कार्यविधि बनेपछि भने सोही अनुसार चल्ने कुरा उपाध्यक्ष सापकोटाले बताए ।
यति छिट्टै यो पाउडर दुध उद्योग यहाँसम्म बन्ला भन्ने आफूलाई नलागेको तर चाँडै काम अगाडि बढेकोमा खुशी ब्यक्त गर्दै बोर्डका संचालक सदस्य एवं नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले यसको श्रेय उपाध्यक्ष सापकोटालाई दिनुपर्ने भन्दै जिवनभर दुग्ध क्षेत्रमा वहाँले बिताउनु भएको अनुभवले गर्दा यस क्षेत्रको मर्म वहाँलाई राम्रोसँग थाहा भएको कुरा अध्यक्ष दाहालले बताए ।


