कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री सेन आगामी मङ्सिर १३ गते काठमाडौँ आउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविध विषयमा द्विपक्षीय वार्ता हुने जानकारी मन्त्री ज्ञवालीले दिएका छन् । अन्य देशबाट उच्च राजनीतिक तहका व्यक्तित्वको नेपाल भ्रमण हुने उनले बताए । आफ्ना जापानी समकक्षीको निमन्त्रणमा आफू जापानको भ्रमणमा आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यहाँबाट कृषि प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउनेमा आफू केन्द्रित रहने बताए ।
‘नेपालको विकासको प्रमुख साझेदार तथा हाम्रा प्रमुख भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि सघाउँदै आएको जापानसँग सडक तथा रेलजस्ता पूर्वाधारमा लगानी ल्याउन मेरो विशेष प्रयास हुनेछ । औपचारिक वैदेशिक सहायता कटौती भइरहेको सन्दर्भमा जापानबाट अधिकभन्दा अधिक लगानी भित्र्याउनु मेरो भ्रमणको अर्को उद्देश्य हो ।’जापानमा लगानीसम्बन्धी कार्यशालासमेत हुने जानकारी दिँदै परराष्ट्रमन्त्रीले भने ।