
शर्मिला विश्वकर्मा, काठमाडौँ
डाउन सिण्ड्रोम समाज नेपालले नेपाली सेनाले सञ्चालन गर्न गइरहेको वरदान विद्यालय जहाँ बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिने विद्यालयका शिक्षकहरूलाई १० दिने प्रयोगात्मक अभिमुखीकरण कार्यक्रम हिजो पुस ३ गते सम्पन्न गरेको छ ।
नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी ( NTNU) को कल्याणकारी बोर्डबाट सञ्चालित यस १० दिने अभिमुखीकरण कार्यक्रममा डाउन सिण्ड्रोम समाज नेपालले सञ्चालन गरेको सत्यम दिवा सेवा केन्द्रका शिक्षक शिक्षिका मार्फत डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा दिन कार्यक्रम सञ्चालन गरिएको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका अकुपेशन थेरापिष्टको पनि ४ हप्ते इन्ट्रनसीपको समापनको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा उक्त युनिभर्सिटीका विद्यार्थीहरूले जानकारी गराएका थिए ।
साथै यस कार्यक्रममा उहाँहरूले डाउन सिण्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूसँग मारुनी नृत्य पनि प्रस्तुत गर्नु भयो । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी ( NTNU) का विद्यार्थीहरूले हाम्रो देशको भेष, भूषा तथा संस्कृतिको बारेमा पनि जान्ने अवसर प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मारुनी नृत्य प्रस्तुत गरिएको आयोजकको भनाई रहेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा सो युनिभर्सिटीका विद्यार्थीहरूले वरदान विद्यालयका शिक्षक शिक्षिकाहरूको प्रस्तुतिबाट आफूले पनि नेपालको कला संस्कृतिको बारेमा धेरै ज्ञान प्राप्त गरेको र यस विद्यालय र स्वयम् आफ्नै पनि क्षमता अभिवृद्धि भएको बताउनु भयो ।
त्यसै गरी डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यो १० दिने प्रयोगात्मक अभिमुखीकरण कार्यक्रममा डाउन सिण्ड्रोम अवस्थाको पहिचान, अवस्था र चुनौती तथा क्षमताको विषयमा जानकारी गराउँदै उनीहरू अनुकूलको वातावरण सृजना गरी अवसर प्रदान गर्नु पर्ने बताउनु भयो ।
नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी ( NTNU) का विद्यार्थीहरूले ४ हप्ता सम्म डाउन सिण्ड्रोम समाज नेपालद्वारा डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूका लागि सञ्चालन गरिएको सत्यम दिवा सेवा केन्द्रको गतिविधिहरूलाई अवलोकन गर्दै र त्यहाँका शिक्षक शिक्षिकाहरूलाई कुपेशनल थेरापीबाट यस्ता बालबालिकाहरूको दैनिक क्रियाकलापमा सहजता हुने बताउनु भएको थियो ।


