दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १३ गते, शुक्रबार १९:०५

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो ।
महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ । कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ। अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।

नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथकसँग जोडिरहन सूत्रधार ( रसिक राज) मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् । ‘गोमा कहाँ छिन् ?’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इङ्गित गदै आम दर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ ।

नाटक हेरेर सामाजिक सञ्जालमा मिसन अधिकारी लेख्छन्, ‘यो नाटकले गम्भीर दर्शकको माग गर्दछ ! नाटक हेरिरहँदा कतै ऐनामा आफ्नै अनुहार त आउँदैन भन्ने भय दर्शकमा पैदा हुन्छ । मनोरञ्जनको लागि मात्र नभएर आफ्नै परिवार, आफ्नै समाजको अँध्यारो पक्षसित परिचित हुन नाटकले अपिल गर्छ । आफैँसित संवाद गर्नलाई हेर्ने हो यो नाटक । ‘

नाटक हेरेपछि दर्शक सरल विक्रम शाह भन्छन्, यो नाटकले म स्वयमनै यो नाटकको पात्र हु भन्ने महसुस गराउँछ। पात्रहरूको परिचय गराउने तरिका निकै नवीन छ। गोमा पात्र अचानक दर्शकहरूबाट उठ्दा निकै तरङ्गित महसुस हुन्छ। नाटकले आफूलाई कोट्याउन बाध्य पार्छ।

नाटकमा सान्सिक प्रोडक्सनको सङ्गीत, निर्मला घिसिङको स्वर, एलिसा तामाङको कोरियोग्राफी र मनोज भण्डारी, सुरज, रसिक तथा शीतलको गीत रहेको छ। पुस ८ गतेबाट मञ्चन भइरहेको नाटकले दर्शकहरूबाट समेत राम्रो साथ पाइरहेको छ। नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, वाइ.एस पौडेल,‌ बिल बहादुर वि.क, सुरज अधिकारी, सरस्वती दाहाल, आरुष जंग सारू मगर, शू गूँ, एलिसा तामाङ, युनिशा खनाल र विवेक भुसालको अभिनय रहेको छ ।

नाटकले अन्याय विरुद्ध गर्जिनुपर्छ र स्वअस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने सन्देश छोडेको छ । चित्रकला, गीत सङ्गीत र नृत्यको कुशल संयोजन रहेको नाटक पुस १५ गतेसम्म बिहीबार बाहेक हरेक साँझ ५ बजे र शनिवार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु