
एन्जल्स हार्ट र इडेनब्रिज एकेडेमी (इबीए) प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सामाखुशीस्थित आयोजक सेबको कोर्टमा दोहोरो जित निकालेको एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २६–१३ तथा सिद्धार्थ मोडेललाई २५–४ ले पराजित ग¥यो । इबीएले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३०–२३ ले हरायो । किङडम विरुद्धको खेलमा भने इबीए ३२–१५ ले चुक्यो । किङडम पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । दुई खेलमा जित हात पारेको किङडमले अर्को प्रतिस्पर्धामा बीएनएलाई २९–१८ ले पाखा लगायो ।
अन्य खेलमा ग्रिनफिल्डले पिपुल्स एकेडेमीलाई ३८–५, ग्रिनल्यान्डले सिद्धार्थलाई १७–७ र जीवन ज्योतिले श्री सत्यसाइलाई ९–२ ले पन्छाए ।
आइतबारको खेलसंगै समूह चरणका खेलहरु सम्पन्न हुँदै क्वाटरफाइनल समीकरण पनि तयार भएको छ । क्वाटरफाइनल ग्रिनफिल्ड र भ्याली पब्लिक, स्किब्स र जीवन ज्योति, एन्जल्स हार्ट र इबीए तथा ग्रिनल्यान्ड र किङडमबीच हुनेछ ।


