
भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ । नेपालले २ रजत पनि जित्यो ।
पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जनाएका छन् । पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे ।
यु–१८ बास्केटबल आइतबारदेखि
कीर्तिपुर नगरपालिकाको आयोजनामा यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १२ टिमको सहभागिता निश्चित भइसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले जानकारी गराए । त्यसबाहेक पोखरा, विराटनगर र टोखाले पनि बिहीबारसम्म सहभागिताको टुंगो लगाउने बताइएको छ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागी खेलाडी तथा दर्शकका लागि ‘थ्री प्वाइन्ट’ सुटका लागि अवसर प्रदान गरिने र उत्कृष्ट १–१ लाई जनही ५–५ हजार नगद पुरस्कार दिइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।


