
काठमाडौं, २३ मंसिर । मन्दिरमा चढाएको प्रसाद जतिकै चोखो र पबित्र छ त भन्न सकिदैन तर फिल्म हलहरुमा आउने फिल्महरुको तुलनामा चोखो चाहीँ पक्कै छ फिल्म प्रसाद । एक किसिमले भन्नुपर्दा कन्टेन्टको खडेरी लागिरहेको नेपाली फिल्म क्षेत्रमा प्रसादले पालुवा फुलाउने कोशिश गरिएको छ । अधिकांश नेपालीको आफ्नै कथा जस्तै लाग्ने प्रसाद पात्र र पात्रको घटना क्रमले सरल र स्वादिलो बनेको छ । अब्बल कन्टेन्ट, सरल प्रस्तुति, पात्रमाथी बुनिने घटना क्रम नै फिल्मको बिशेषता हो । फिल्मका लेखक सुशिल पौडेलले फिल्म क्षेत्रलाई नयाँ आयामको रुपमा सरल कन्टेन्ट पक्कै दिएको छ । त्यस भित्र पनि मानवीय संबेदनालाई जोडेर त्यसलाई कसरी प्रस्तुतिमा अब्बल बनाउन सकिन्छ भन्ने ध्यानमा राखेर पटकथालाई निर्माण गरिएको छ ।
मौलिक र नयाँपन सहित निसन्तान दम्पतिको कथा प्रसादले बोलेको छ । बाबुराम परियार (बिपिन कार्की) सँग सधै लुगा सिउन आउने बहानामा नारायणी कार्की (नम्रता श्रेष्ठ) को माया बस्छ । क्षेत्रिनी केटिको परियार केटासंगको माया प्रेम ग्रामिण भेगलाई अपाच्य हुन्छ र बाबुरामले नारायणीलाई भगाएर काठमाडौं ल्याउछिन् । काठमाडौंमा एउटा कोठा लिएर बाबुराम र नारायणीले अभावमा पनि आफ्नो दैनिकी चलाउने कोशिश गर्छन् । दैनिकी चलाउनकै लागी बाबुरामले लुगा सिउन थाल्छन् र नारायणी स्कुलको सहयोगी बन्छिन् । अभावलाई पुर्ती गर्न बाबुरामलाई कठिन हुन्छ । त्यही बेला बच्चा बेलाको रमेश (निश्चल बस्नेत) संग बाबुरामको भेट हुन्छ । बाबुराम कै मायालाई आफ्नो जिवन जिउने यात्रा बनाएकी नारायणी सरल, शुशिल र सुन्दर छिन् । अभावको महशुश गरेका बाबुरामलाई रमेशले नयाँ काम खोजिदिन्छ । त्यसपछि नारायणी, बाबुराम र निश्चलको जिवन दैनिकी चलिरहन्छ । एकातिर बिस्तारै सन्तान मोह नारायणीमा हुनु र अर्कोतिर बाबुरामबाट सन्तान नहुनु दिनहुँ समाजमा देखीरहेका समस्या भित्रको एक झै लाग्छ । यसको भावजुद नारायणीले सन्तान पाउँछिन् की पाउँदिनन् भन्ने बिषय माथि फिल्म घुमेको छ । रमेशबाट नारायणीले पाउने भौतिक दुख र त्यही दुखका कारणले नारायणीले पाउने हरेक चोटलाई प्रसादले सरल तरिकामा प्रस्तुत गरेको छ ।
निसन्तान दाम्पतीले सन्तान मोहमा गरेको संघर्ष भन्दापनि उनिहरुको जिवनमा आउने मोडहरुलाई दर्शकसंगको मनोभावसंगै लिएर जानु फिल्मको सबल पक्ष हो । फिल्मका पात्र र पात्र प्रस्तुतिसंग दर्शकको मनोभाव मिल्नु नेपाली फिल्मको लागी नयाँ आयम हो । अरु ब्यवसायिक फिल्ममा जस्तै यसमा न कुनै अनाबश्यक मनोरञ्जनको खुराक छ न जबर्जस्ती दर्शकलई रुवाउन खोजिएको छ र पनि सबैको मनमा बस्न सक्ने फिल्म बनेको छ प्रसाद । गीत संगितको पक्ष राम्रो छ, पात्र स्थापना र छनौट, पार्श्व संगित, साना साना कुराहरुलाई सुचीबद्व तरिकाले गरिएको सरल प्रस्तुति फिल्मका सबल पक्षहरु हुन् । निश्चलको अभिनय औसत लाग्छ । बिपिनको अभिनयको धेरै प्रशंशा प्रसादबाट बढ्नेछ । नम्रता श्रेष्ठले नारायणी पात्रलाई न्याय दिन केही कसुर बाँकी राखेकी छैन । नम्रताको पात्रले दर्शकलाई कौतुहलता दिएकी छिन् भन्ने विपिनको पात्रले दर्शकलाई आनन्द, खुशि र रोदन पनि दिइएको छ ।
फिल्ममा केही कमजोरीहरु पनि छन् । फिल्म भनेको भिजुअल ल्याङ्गुज हो भन्ने कुरालाई पुर्ण रुपमा निर्देशकले बुझेको देखिदैन । बाबुरामलाई सुताउनकै लागी नारायणीलाई पानी परेको हेर्न कोठाबाट बाहिर पठाउनु, गाउँ जान बिच बाटोमा पुगेको बाबुरामले रमेशलाई फोन गरेको जस्तो गरेर म गए तिमी मेरो कोठा जाउ है भनेको जस्तो लाग्नु, नारायणी र बाबुरामलाई बिस्तारै संगम गराउन रचेका केही अपत्यारीला सिन तथा संवादहरु, रमेशले पटक पटक नारायणीलाई बोलेको संवाद तथा सिनहरु अपत्यारीलो लाग्छन् । फिल्मले पुरानै शैलीमा बिट मारेको छ । कला निर्देशकको काम केही कमजोर छ भन्ने नारायणीको कपालले केही महशुश गराउँछ । सिनेमाटोग्राफर राजेश श्रेष्ठले अझै चित्तबुझ्दो काम नगरेको भान धेरै सिनहरुमा हुन्छ । रमेश पात्र प्रस्तुतिलाई अझ रोचक बनाउन सक्ने पक्षबाट पनि निर्देशक चुकेको देखिन्छ । तथापी यस्त साना कमजोरीहरुलाई बिर्सने हो भन्ने प्रसाद चाख्न योग्य फिल्म बनेको छ । मौलिक कला सहितको कथा, सरल प्रस्तुती, समाज भित्रकै पात्र, नेपाली फिल्ममा देखिएका नयाँ स्वादले प्रसादलाई अब्बल बनाएको छ । त्यसैले प्रसाद एक पटक चाख्नै पर्ने छ ।
फिल्मी फण्डाबाट


