दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुस्ताबासीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने उर्जामन्त्रीको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १० गते, बिहीबार २२:०४

काठमाडौँ १० असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले आज विद्युत जडान भएका सुस्ता पश्चिमका करिव ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको हो ।

नेपाल विद्युत प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ गरिएको थियो ।

सोही कार्यक्रममा उर्जामन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत सेवा उपयोगबाट वञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार कार्य सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताउनुभयो । उक्त शुभारम्भसँगै नवलपरासी जिल्लामा पूर्णरुपमा विद्युतीकरण भएको छ ।

सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत सेवा उपलब्ध थियो । ३५० भन्दा बढी घरपरिवारले सौर्य ऊर्जाको प्रयोगबाट आफ्नो आवश्यकता पूरा गर्दै आएका थिए । सुस्तामा गण्डक सबस्टेशनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ । मन्त्री खड्काले उक्त कार्यसँगै सुस्ता क्षेत्रका बासिन्दालाई गुणस्तरीय र विश्वसनीय विद्युत सेवा उपलब्ध गराउन सहयोग पुग्नुका साथै यहाँको औद्योगिक, पर्यटन, र आर्थिक गतिविधिमा पनि व्यापक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले एकसय किलोवाट क्षमताको सौर्य मिनीग्रिड प्रणालीलाई पनि राष्ट्रिय ग्रिडमा सफलतापूर्वक जोडेका छौँ, सुस्ता गाउँपालिका–५ मा निर्माण भएको यो परियोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ‘तराई मधेश समृद्धि कार्यक्रम’ र सुस्ता गाउँपालिकाको सहयोगमा विस २०७७ साल मंसिरदेखि सञ्चालनमा ल्याएका थियौँ,”– उहाँले भन्नुभयो ।

उक्त परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडीदिँदा यसको दीर्घकालीन दिगोपन सुनिश्चित भएको मन्त्री खड्काको भनाई छ उहाँले देशभर रहेका साना सौर्य ऊर्जा प्रणाली तथा लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गर्न सरकार योजनाबद्ध ढंगले लागेको बताउनुभयो । राष्ट्रिय ग्रिडले नेपालको हरेक कुनासम्म सेवा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।

उर्जामन्त्री खड्काले सुस्तालाई राष्ट्रिय ग्रिडमा जोड्नु विद्युत पु¥याउनु मात्र नभई विकास, समृद्धि र अवसरको उज्यालो बाटो तिर लैजानु पनि भएको बताउनुभयो । सोही अवसरमा मन्त्री खड्काले नारायणी नदीमा तटबन्धको काम तत्काल सुरु गरिनेसमेत बताउनुभयो ।

यसैबीच, राष्ट्रपति पौडेलले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित नेपालकै सबैभन्दा लामो त्रिवेणी–महेशपुर (सुस्ता) एक हजार ५७१ मीटर झोलुङ्गे पुलको समेत उद्घाटन गर्नुभएको थियो ।

शहरी विकास मन्त्रालयबाट निर्माण गरिएको उक्त कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् सहरीविकास मन्त्री प्रकाशमान सिंहले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै उक्त समस्याको समाधान भएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु