
काठमाडौँ । बीबीसीले सार्वजनिक गरेको सन् २०२४ मा विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी पर्यावरण उद्यमी सिलसिला आचार्य पनि छनोट भएकी छन् ।
मंगलबार सार्वजनिक उक्त सूचीमा छनोट भएपछि उनले प्रतिक्रियामा भनिन्, ‘मेरा लागि यो एकदमै अपत्यारिलो खबर हो ।’ विश्वका एक सय प्रभावशाली महिलामा छानिएसँगै उनले ‘फोहोरको कामले सफा नाम दिएको’ बताइन् ।
पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी सिलसिलाले विश्वका अन्य महिलासँगै बीबीसीको उक्त सूचीमा पर्नुलाई आफूले गरेको कामले सम्मानजनक मान्यता पाएको टिप्पणी गरिन् ।
भनिन्, ‘यस उपलब्धिले नेपाललाई पुनः विश्व मञ्चमा चिनाएको छ भने मैले गर्दै आएको कामले पनि सम्मान पाएको महसुस गरेकी छु ।’
उक्त सूचीमा विश्वका पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिला छनोटमा परेका हुन् । सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन् ।
प्रकाशन मिति–२०८१ मंसिर २६ गते बुधबार ।


