
काठमाडौं। निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ। आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीको भनाई रहेको छ। अधिकारीका अनुसार यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो । हिजो शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो। सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ। शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो। आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ। काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ। योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन। केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन। त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ। केही दिन यस्तो जाडो कायमै रहने भएको छ।
प्रकाशन मिति–२०८१ मंसिर २९ गते शनिवार ।


