दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २० गते, शनिबार २१:१२

काठमाडौं, बैशाख २० गते । आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने । सिटिजन्स बैंक टेनिसमा दुवै नयाँ च्याम्पियन हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । आरभको समग्रमा तेश्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ«े टेनिसको उपाधि जितेका थिए । निहालजंगबहादुर थापा र राजवीर प्रधान तेश्रो भए । आठौं र दसौं संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वाटरफाइनलमै रोकिए । प्रदीपलाई राजवीरले क्वाटरफाइनलमा हराएका थिए ।
महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले नवौं र दसौं संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराइन् । ४ वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिंगल्स उपाधि हो । आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेश्रो स्थानमा चित्त बुझाए । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी पहिलो भए ।
विजेतालाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्द, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सिटिजन्स बैंकका सञ्चालकत्रय प्रकाश मैनाली, विजयध्वज कार्की र दिगविजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ६३ खेलाडी सहभागी थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु