
काठमाडौं । नेपाली मौलिक खानाको विकास,पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपालले ३० औं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
बिहीवार काठमाडौं चावहिलमा रहेको स्मार्ट पार्टी प्यालेसमा भब्य रूपमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले पानसमा बत्ती बालेर वार्षिकोत्सवको उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि शाहले हस्पिटालिटी सम्बन्धी पढाई बिद्यालय तहबाट गर्नु पर्ने बताए । स्वदेश तथा विदेशमा पनि राम्रो काम र दाम पनि हुने क्षेत्र हस्पिटालिटी नै भएकोले यस क्षेत्रमा गरेको लगानी खेर नजाने दावी गरे ।
अतिथि र सहभागीको स्वागतका लागि बिभिन्न किसिमका साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिलाई सेफ कोट लगाउन लगाएर सम्मान गरिएको थियो ।
नेपाली खानाका परिकारलाई स्वदेशी तथा विदेशी सबैलाई स्वाद चखाउन नेपाली सेफ्सहरुको भूमिका अतुलनीय भएको जिकिर गरे ।
कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्ष र विशिष्ट अतिथहरुले पनि एसोसिएसनको काम र नेपाली खाना विश्व समूदायलाई चिनाउन उल्लेख्य भूमिका रहेको बताएका थिए ।
यस्तै,कार्यक्रममा एसोसिएसनले प्रकाशन गरेको सेफ प्रोफाइलको विमोचन गर्नुका साथै सेफहरूलाई सम्मान गरिएको थियो।

एसोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले संस्थाले आगामी दिनमा नेपाली खाना र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि सारेको बताए ।
यससँगै नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र देशको पर्यटन तथा अर्थतन्त्र सुदृढ पार्न योगदान पुर्याउने लक्ष्यसमेत राखिएको जानकारी दिए ।
अध्यक्ष तामाङले आजको यस विशेष अवसरमा हामी सबैको साझा प्रयास र समर्पणले एसोसिएसनलेनयाँ उचाइ लिएको छ भन्दा गर्वले छाति उचो भएको महशुस भएको बताए । संस्थाले आगामी वर्षमा नयाँ कार्यक्रमहरूको आयोजना गरी सदस्यहरूको क्षमता विकास र समुदायको सशक्तीकरण गर्ने योजना बनाएको छ ।
अध्यक्ष लामाले भने,संस्थाको वित्तीय स्रोतलाई थप सुदृढ बनाउन विभिन्न पहलहरू भइरहेको पनि यसै साधारणसभा मार्फत जानकारी गराउन चाहन्छु । हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं । आगामी दिनमा एसोसिएसनलाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वाससमेत दिलाउन चाहन्छु ।

महासचिव पदम बहादुर आले मगरले संस्थाको उद्देश्य, भावी योजना कार्यक्रमबारे जानकारी दिँदै सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली खानालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउने दीर्घकालीन योजना अघि सारेको बताउनुभयो।
‘हाम्रो पेशा, हाम्रो सान’ भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो।


