
काठमाडौं – अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चकलेटीयर तथा एजुकेटीभ पेष्ट्री सेफ सरोज थापाले परम्परागत नेवारी दही जुजु धौ मिश्रित अनौठा स्वादयुक्त केकहरुको उत्पादन नेपालमा विधिवत रूपमा सुरु गरेका छन्। बेक जुजु धौ केक नामक यो विशेष पारिवारिक व्यवसायको सुरुवात काठमाडौंस्थित आफ्नै निवासबाट गरिएको हो।
सेफ थापाले आफ्ना केक उत्पादनहरू पूर्णतः अर्गानिक हुने र अर्डर अनुसार स्वादअनुसार तयार गरिने जानकारी दिए। यस व्यवसाय अन्तर्गत परम्परागत तथा जडीबुटीजन्य स्वाद मिसाएर तयार गरिएका केकहरू उपलब्ध हुनेछन्, जुन सामान्यतया अन्य बेकरीमा पाइँदैनन्। प्रस्तुत केकका स्वादहरूमा यार्सागुम्बा, मोरिंगा, सिस्नो, सखरखण्ड, गाजर, हरियो स्याउ, चुकन्दर, टिमुर, भ्यानिला, कोकोवा, नीम, हरियो चिया, जिम्बु, चिया सिड, आलस, पाँचऔँले, सालधूप, शिलाजीत र जटामसी रहेका छन्।
फ्रान्स र जर्मनीबाट पेस्ट्री, बेकरी,आइसक्रिम र चकलेट बनाउने विषयमा डिप्लोमा गरेका थापाले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र हाल साउदी अरेबियामा काम गरिसकेका छन्। उनी विश्व प्रसिद्ध फुटबल खेलाडी साडियो माने र क्रिस्टियानो रोनाल्डो लगाएतका स्वस्थ आहार र खाना योजनामा समेत सहभागी हुनुहुन्छ ।
सेफ थापाले उक्त नवीनतम व्यवसायलाई दीर्घकालीन सफलतामा रूपान्तरण गर्न सबैले साथ र सहकार्य गरून् भन्ने कामना व्यक्त गर्दै भने, “सधैं मिलेर रहौं, यस सुरुवातलाई अर्थपूर्ण बनाऔं।”


