
धुर्ब तिवारी
उपाध्यक्ष
नेपाल डेरी एसोसिएसन बागमती प्रदेश
दूधमा अन्नमा भन्दा दस गुणा बढी शक्ति हुन्छ। दूध असाधरण तरल भोजन पदार्थ हो । जन्मदा देखि प्राणीमात्रले सेवन गर्ने भोजन नै दुध हो। आमाको गर्भवाट निस्कनासाथ हरेक शिशुको आहार नै आमाकै दूध हो। आमाको दूध खाएर बलियो बनेको जीवनमा पछिसम्म तन्दूरुस्त पार्न गाईभैसी तथा विभिन्न डेरी उद्योगका दुग्ध पदार्थ तपाई–हामीले सेवन गदैंआएका छौ। आधुनिक विज्ञानले पनि दूधलाई पौष्टिक आहारको रूपमा स्वीकार गरेको छ। डाक्टरहरू बिरामीलाई दूध खाएर स्वस्थ बन्न र बनाउन सल्लाह दिने गरेको कारण यसको अझ धेरै महत्व र आवश्यकता छ।
परम्पराले पनि दूध गुनिलो पेय पदार्थ हो भन्ने कुरालाई आत्मसात् गरेको छ । पञ्चामृत बनाउँदा गाईको दूध, दही र घिउका साथमा मह र सख्खर मिसाइन्छ। यस दृष्टिमा दूध अमृत हो । यस्ता अनेकौं दृष्टान्तले दूध मानवका लागि सर्वोत्तम आहारका रूपमा परिभाषित भएको छ । दूध पौष्टिक पदार्थ हो।
आज मिति २०८२ साल जेठ १८ गते आइतवार तदानुसर जुन १ तारिख २०२५ ।। आज विश्व दूध दिवस ।। हरेक जुन १ तारिखका दिनलाई विश्व दूध दिवस मनाउदै आएको छ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओले) सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो।
यस अवसरमा नेपालमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर विश्व दूध दिवस मनाउने गरेको छ।
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। गुणस्तरीय दूधले शरीरलाई स्वस्थ बनाउन धेरै नै मदत गर्ने भएको कारण दूधको मागमा व्यापक बृद्धि भैरहेको छ।
दूधको माग गाउंघरको साना चिया पसलदेखि ठूला–ठूला तारे होटलसम्म रहेको छ। गरीब देखि धनीसम्मको एकमात्र उपभोग्य तरल पदार्थ दूध सवैको लागि उपयोगी आहार हो । यसको अनेक गुण भएको कारण दूध तपाई–हाम्रो जीवनको लागि अत्यावश्यक खाद्य पदार्थ हो। यसकारण दूधको सेवन मात्रा बढाऔं–रक्सीजन्य खराब मध्यपानलाई घटाऔं भन्ने अभियान विश्व दूध दिवसको अवसरमा सवैलाई चेतना दिन आवश्यक छ।
” विश्व दूध दिवसको सबैलाई हार्दिक शुभकामना !


