
कृत्रिम हाँसो र अतृप्त मनहरूको ऐजेंरु
यो शहर जति सुखी देखिन्छ
त्यति कहाँ पो खुसी छ र !
आँफैले चुनेकाहरूसँग ठगिनुपर्ने
चिने जानैकैहरुबाट प्रताडित हुनुपर्ने
आफ्नै भन्नेहरूबाट दागा झरिनुपर्ने
आफन्तबाटै एक्लिनुपर्ने
सबै प्रकारका अन्तर्नाद
अन्तर्घातबाट
अभिशप्त छ
यो सिङ्गो शहर ।
न त बाबुको लाड प्यार
न त आमाको विशुद्ध मातृत्व
न त लोग्नेको असली माया
न त पत्नीको करुणा
न त दाजु भाइको भ्रातृत्व
न त इष्टमित्रको घनिष्ठता
सबै थोक बिर्साएर
पैसा र शक्तिकै खातिर
त्यो क्रितिम हाँसो जडित खुशी किन्दै
आफैँ मधमस्त बन्न प्रेरित
गरिरहेछ
यो सिङ्गो शहर !
मानवता बिर्साएर
मान्छेहरू मान्छेहरूबिच भिडाउन
जिउँदा लाससरि सलबलाउन
कत्लेआम
मान्छेको हुर्मत लिन
चरम कष्ट दिन
दिनदहादै लुट्न
मान्छेले मान्छे ठग्न
दुःखको पहाडै चढाउन
उस्तै उद्यत छ
यो सिङ्गो शहर !
प्रकृतिको अभिशाप भनौँ या
अदुरदर्शीताको परिणाम
चरम महँगी
भ्रष्टाचार, कमिसन
ठगी, अपराध, बलात्कार
हिंसा, हेय, अपमान, अराजकता
कहिले बन्दाबन्दी
कहिले रोग व्याधिको पिडा
कहिले भूकम्पको त्रास
कहिले नाकाबन्दी
कहरै कहर पिएर बाँचिरहेछ
यो सिङ्गो शहर !
कयौँ सपनाहरू साँच्दै
सिंघौरी खेल्दै खेल्दै
घिस्रँदै घिस्रँदै
विगतबाट वर्तमानसम्म आइपुग्दा
आफूले आफ्नै भौतिक स्वरूप भुलेर
एउटा फगतको झुलाइमा झुलिरहेछ
यो सिङ्गो शहर !
खुला आकाश मुनी
ठुलै चाक्ला फाँटहरू
प्रशस्त खेल मैदानहरू
मनग्ये मानिस अटाउने पार्कहरू
अब कहाँ नै बाँकी छ र यहाँ रु
अब त केबल,
बडेमानका घरहरू
अलिशान बङ्गलाहरू
व्यापारिक कम्प्लेक्स र मलहरू
त्यसभित्रका सरकारी, निजी हलहरू
यी शिवाय अब बाँकी के नै छ र यहाँ
जहाँ बसेको र टेकेको शुल्क लाग्छ
देखेको र हेरेको पनि कर लाग्छ
यो सिङ्गो शहर !
जति मौसम उघारिए पनि
यो शहर विगतमा जस्तो एकसाथ हाँस्न जान्दैन
अरूको सुखलाई आफ्नो ठान्दैन
अरूको सफलतालाई राम्रो मान्दैन
अरूका दुःख वेदनालाई कत्ती छाम्दैन
न त आफन्त चिन्छ
न त अपनत्व दिन्छ
केबल,
व्यक्तिवादिता र चाटुकारितामा रम्न बाहेक
भ्रममा जिउन सिकाउन बाहेक
अरू केही गर्न जान्दैन्
यो सिङ्गो शहर !
सभ्यता र संस्कार भुल्दै भुल्दै
रिमोट र ग्याजेटको सहारा खोजी बस्दै
सकारात्मक प्रयोगका साटो
बल, बुद्धि र समयको दुरुपयोग गर्नमा नै
अभ्यस्त रहँदै
फगतका क्रियाकलापमा रम्दै
केबल
उन्मत्त शरीर र अश्लीलता
अनि क्षणिक सुखमा रमाउनमा व्यस्त छ
यो सिङ्गो शहर !
हात बाँधेर
दिमागलाई बन्धकी राखेर
सत्यलाई त्यागेर
असत्यको मार्गमा हिड्दै
झुटका खेती गर्दै
कयौँ झुटै आश्वासन बाड्दैमा
व्यस्त छ, मस्त छ
यो सिङ्गो शहर !
केही चाक्ला सडक र बग्रेल्ती साँघुरा गल्ली
घरीघरी यत्रतत्र छरपस्ट हुने फोहरका थुप्राहरू
त्यसबाट आउने गन्ध
छताछुल्ल ढलहरू
ह्वास्स गनाउने नदी र खोलाहरू
असरल्ल मानिसका हुलहरूसँग
मानिसहरूलाई अभ्यस्त गराउँदै छ
यो सिङ्गो शहर !
शहर हुनुको बेग्लै विशेषता
बिरानो र पराई मानसिकता
हुने र नहुने बिचको खाडल
खान पुग्ने र नपुग्ने बिचको भेद
शक्ति हुने र नहुने बिचको भिन्नता
दुरी लिएर कयौँ सपनाहरू बाड्नमा
आज पनि तल्लीन छ
यो सिङ्गो शहर !
कुहिरोमा हराएको काग जस्तै
भुत्ते खुकुरी जस्तै
रित्तो भकारी जस्तै
नक्कली हिरा जस्तै
फगत र कृत्रिम चमक लिएर
एकसरो जीवन जिइरहेछ
यो सिङ्गो शहर ।
एकैसाथ हाँस्न नजान्ने
एकैनास मान्दै नमान्ने
मान्छेहरू खँदाएरै अटाउँछ यो
तर मनहरू अँटाउन दिँदैन
अडिन मिल्ने समय र परिवेश बनाउँदैन
जहाँ क्षणिक अवसर त फस्टाउँछ
तर मानवता फस्टाउदैन्
त्यसैले त भरिभराउ रहेर पनि
टाउकाहरूले चुलिएर पनि रित्तो रित्तो छ
यो सिङ्गो शहर !
अस्तु….!!!


