कम्युनिष्टहरु आफूईतरका विचारलाई स्विकार्दैनन्उ:पसभापति निधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते, आईतवार ०७:००

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन् । उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्विकार नगर्ने समेत आरोप लगाए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा गायक कृष्ण बि.क.कोे पहिलो गीति एल्वम् ‘झल्को’ बिमोचनको लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।नेता निधीले ‘प्राणभन्दा प्यारो लाग्छ’ र ‘यो देशको माटो कसले छुन सक्छ’ जस्ता देशभक्ति गीतहरुका शब्दहरु गाएर आफ्ना धारणा राखेका थिए ।

उनले भने,‘लोकतन्त्रले मानिसलाई स्वतन्त्र बनाउन मद्दत गर्छ, हाम्रो समाजमा दुई थरिका प्रसँगहरु उठ्ने गर्दछन्, एउटा प्रजातान्त्रिक अर्को कम्युनिष्ट, कम्युनिष्टहरुले आफ्ना कुराहरु स्विकार गर्नेलाई मात्रै सम्मान गर्न सक्छन् तर लोकतान्त्रिक पक्षले आफ्ना बारेमा गरिएका आलोचना र कमजोरीहरुलाई सुन्छ् त्यसकारण गीत–संगीत क्षेत्रबाट कलाकारहरुले दबिएका आवाजहरुलाई उठाउनु पर्ने हुन्छ ।’उनले भने,‘गीत सबै थोक हो, तत्कालिन राजा महेन्द्र शाहको पालामा आफूले भोगेको पीडा र कष्ट स्मरण गर्दै त्यतिबेला यही माटोमा जन्मिए बुद्ध, भृकुटी र सीता, यही माटोमा जन्मिएका थिए वीपी हाम्रा नेता जस्ता गीतहरु गाउँदै जेलजीवन भोगेका थियौं, आज हाम्रो छोरा, हाम्रो सम्पति कृष्ण भाईले जुन गीतहरु गाउँनुभयो बिमोचन गर्नको लागि मलाई प्रमुख अतिथि बनाउनुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले गीत सपना र विपना हो भन्ने धारणा राख्दै भने,‘गीत आन्दोलन हो, गीत गाली हो, गीत सम्मान हो, समवेदना, प्रेम, बिछोड सबथोक गीत हो, त्यसैले कृष्ण भाईले रोजेको पाटो राम्रो छ, भाईलाई हाम्रो साथ रहनेछ ।’त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी. साउदले गायक बिकले बजारमा ल्याएको पहिलो गीति एल्बम्ले पूर्ण सफलता पाउने विश्वास दिलाए । उनले भने,‘गायक भाई कृष्ण ठूलो सम्भावना बोकेको प्रतिभा हो, बहिष्कृत र पीछडिएको समुदायको माझबाट सम्भावना बोकेको गायकका रुपमा मैले लिएको छु।’

नेता साउदले गायक बि.क. राम्रो सम्भावना बोकेर अघि बढ्दै गरेको प्रतिभाको रुपमा लिएको बताउँदै आगामी दिनमा मेरो तर्फबाट हुने सम्पूर्ण साथ रहने विश्वास दिलाए । उनले भने,‘पहिलो पाईला नै जीवनको महत्वपूर्ण अवसर भएकाले राम्रोसँग यस क्षेत्रमा लाग्न आग्रह गर्दछु ।’कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सरलता र घमण्डविहिन मानिसले समाजमा प्रगति गर्नसक्ने धारणा राखेका छन् ।उनले भने,‘ग्रामिण ईलाकाबाट राजधानीसम्म आएर गीति एल्बम्को लागि रकम जुटाउनु, सबैको मन जित्नु सामान्य कुरा होईन, हाम्रो साथ छ, जीवनमा महत्वकांक्षी हुनुपर्छ, तर घमण्डी बन्नुहुँदैन।’गायक कृष्ण बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर शाहले गायक बि.कसँग अद्धितीय क्षमता आफूले देखेको भन्दै आगामी दिनमा उज्जवल भविष्यको लागि शुभकामना दिए ।

त्यस्तै कार्यक्रममा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, नेपाल विद्यार्थी संघका सभापति नैनसिँह महर, उपाध्यक्ष पुष्पकुमार शाही, नेपाल साँस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, संगीतकार बिबि अनुरागी, भोजराज भट्ट, राजेन्द्र भट्ट लगायतले कृष्ण बिकको आगामी सांगीतिक यात्रा सफल बन्नको लागि शुभकामना मन्तव्य दिएका थिए ।
गीति एल्वम् ‘झल्को’ मा बीबी अनुरागी, हेमन्त शिशिर, राजेन्द्र भट्टको संगीत रहेको छ । तेज पुरुष, कृष्ण बि.क, राजेन्द्र भट्टको शब्द रचना रहेको उक्त एल्वम्मा पाँच वटा गीतहरु समावेश गरिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु