काठमाडौं – भोलि शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदनमा कोटा सिस्टम हट्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएकाे हाे ।
अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ । यसैबीच विभागले हालका लागि अनलाइन फर्म भर्दा नियमित रूपमा प्राप्त गरेकाे एसएमएस सेवा केही समयका लागि बन्द गरेकाे जनाएकाे छ ।
एसएमएस सेवा सुचारू नहुँदासम्म आफ्नो रजिस्ट्रेशन नम्बर सुरक्षित गरी सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्नुपर्ने सो सूचनामा उल्लेख छ ।
त्यसका लागि सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np) खोल्नुहोस् । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।
त्यहाँ क्लिक गर्दा नयाँ विन्डोज खुल्नेछ । जसको सबैभन्दा माथि निलो रंगले लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।
यसपछि आउने नयाँ विन्डो ‘सिटिजनसिप’ मा नेपाल छानेर New License मा अप्लाई गरी ‘Proceed मा क्लिक गर्नुहोस् ।
‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ । उक्त फारममा आवश्यक जानकारी भरी (त्यहाँ भएका ‘category ’ र ‘mobile number ’ भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन पनि मिल्दैन ।) अन्त्यमा रहेको ‘submit’ मा क्लिक गर्नुहोस् ।
जब तपाईंले अनलाइन फारम भरेर ‘submit’ मा क्लिक गर्नुहुन्छ । तब, यदि तपाईं तोकिएको कोटाभित्र पर्नु भएको खण्डमा तपाईंको अनलाइन फारम विभागको सिस्टमले एक्सेप्ट गर्नेछ । यदि कोटाभित्र पर्नुभएन भने विभागले आजका लागि कोटा पुरा भएको जानकारी दिनेछ र तपाईंको फारम एक्सेप्ट हुनेछैन ।
यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।
उक्त तेकिएको समयमा तपाईं बायोमेट्रिकका लागि आवेदक फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ ।
बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका काम हुन्छ । साेही दिन तपाईंको लिखित परीक्षा दिने समय समेत तपाईंले कार्यालयबाट जानकारी प्राप्त गर्नु हुनेछ ।
लिखित परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।