
काठमाडौं, ९ मंसिर।
जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ।
मन्त्रीद्वयले उपचाररत ढकालसँग प्रत्यक्ष भेट गरी उहाँको स्वास्थ्य अवस्था, हालसम्मको उपचार प्रगति तथा आगामी उपचारका आवश्यकताबारे जानकारी लिनुभयो। सो क्रममा उहाँहरूले शान्तनुका बुबासँग पनि भेट गरी उपचारका क्रममा परिवारले भोग्नुपरेका कठिनाइ, आर्थिक तथा सामाजिक अवस्था र परिवारका आवश्यकताबारे जानकारी लिनुभयो।
भेटका क्रममा मन्त्री सिता बादीले शान्तनुको उपचारसँगै उहाँको आगामी जीवन र परिवारको भविष्यलाई समेत राज्यको चासो र जिम्मेवारीको विषयका रूपमा लिनुपर्ने बताउनुभयो। उपचारपछिको पुनर्स्थापना, परिवारको रोजगारी, शिक्षाको निरन्तरता तथा अन्य आधारभूत आवश्यकताका विषयमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने उहाँले बताउनुभयो।
शान्तनु र उहाँको परिवारलाई आवश्यक परेको अवस्थामा मन्त्रालय सहयोगका लागि साथमा रहने मन्त्री बादीको भनाइ थियो।
त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचारका क्रममा देखिन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता, थप शल्यक्रिया तथा अन्य उपचार आवश्यकताका विषयमा स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो। उपचार प्रक्रियालाई प्रभावकारी र सहज बनाउन सम्बन्धित स्वास्थ्य संस्था तथा चिकित्सकसँग आवश्यक समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो।
मन्त्रीद्वयले शान्तनुको अवस्थालाई उपचारमा मात्र सीमित नराखी स्वास्थ्योपचारपछि सम्मानजनक जीवनयापन, सामाजिक पुनर्स्थापना, शिक्षाको निरन्तरता तथा आर्थिक आत्मनिर्भरतासँग जोडेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
राज्यको दायित्व नागरिकको जीवन रक्षा र उपचारमा मात्र सीमित नरही कठिन परिस्थितिबाट गुज्रिएका व्यक्ति तथा परिवारलाई पुनः सामान्य जीवनमा फर्किन आवश्यक आधार तयार गर्नु पनि भएको उल्लेख गर्दै उहाँहरूले यसका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


