
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यहरूलाई सुन्धारास्थित गेस्ट हाउसमा पुगेर भेटघाट गरेकी छन्।
भेटमा मन्त्री बादीले राउटे समुदायको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा आत्मीय संवाद गरेकी थिइन्।यसअघि सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर उनीहरूको जीवनशैली र समस्या बुझेकी मन्त्री बादीलाई समुदायका सदस्यहरूले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री, काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए। त्यही भेटको सम्झना गर्दै राउटे समुदाय काठमाडौं आएको जानकारी पाएपछि मन्त्री बादी उनीहरूलाई भेट्न पुगेकी हुन्।
भेटका क्रममा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायत आवश्यक सामग्री उपहारस्वरूप प्रदान गरिन्। मन्त्री बादीबाट प्राप्त सम्मान र सामग्रीप्रति राउटे समुदायका सदस्यहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनीहरूले आफूहरूले पाएका सामग्रीबारे बस्ती फर्किएपछि समुदायका अन्य सदस्यलाई समेत जानकारी गराउने बताएका थिए।

प्रधानमन्त्री र मन्त्री बादीको तस्बिर देखाउँदा राउटे समुदायका सदस्यहरूले प्रधानमन्त्री बालेन शाहलाई आन्दोलनपछि चिनेको र मन्त्री बादीलाई भने अघिल्लो सल्यान भ्रमणकै बेलादेखि चिनेको बताएका थिए। मन्त्री बादीले उनीहरूको हातमा नाम लेखिदिँदा भेटघाट थप आत्मीय बनेको थियो।
बसाइँसराइ र मृत्युसंस्कारबारे पनि छलफल
भेटका क्रममा राउटे समुदायको बसोबास र मृत्युसंस्कारसँग जोडिएको परम्पराबारे समेत छलफल भएको थियो। समुदायका सदस्यहरूले कसैको मृत्यु भएपछि बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्टि गर्ने, त्यसपछि सातदेखि १२ दिनसम्म किरिया बस्ने र किरियापछि पुरानो बसोबास छाडेर अर्को स्थानमा बसाइँ सर्ने परम्परा रहेको जानकारी गराएका थिए।
एक स्थानबाट अर्को स्थानमा बसाइँ सर्ने क्रममा विभिन्न कारणले पुनः स्थान परिवर्तन गर्नुपर्ने अवस्था आउने उनीहरूले बताएका थिए। निरन्तरको बसाइँसराइका कारण खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवामा पहुँच पाउन असहज हुने विषयमा पनि छलफल भएको थियो।
सुरक्षित आवास र जीवनस्तर सुधारमा जोड
मन्त्री बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको परम्परा तथा मौलिक संस्कृति र परम्पराको सम्मान गर्दै संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताइन्।
उनले राउटे समुदायको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त खाद्यान्न तथा विशेषगरी बालबालिका, गर्भवती महिला, एकल महिला र ज्येष्ठ नागरिकको पोषण तथा जीवनस्तर सुधारका क्षेत्रमा सरकारले गरिरहेको प्रयासमा थप के गर्न सकिन्छ भन्नेबारे समुदायका सदस्यसँग सुझाव मागिन्।
राउटे समुदायका सदस्यहरूले आफूहरू पनि जीवनशैलीमा सकारात्मक परिवर्तन चाहेको बताएका थिए। शिक्षा, स्वास्थ्य र आवासमा बिस्तारै परिवर्तन हुँदै गए पनि त्यसका लागि समुदायका अग्रज तथा मुखियालाई समेत बुझाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।
उनीहरूले बस्तीको सुरक्षाका लागि प्रहरी परिचालनमा समन्वय, बालबालिका तथा युवाका लागि खेलकुद सामग्री उपलब्ध गराउने र विभिन्न स्थानको भ्रमण गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
मन्त्री बादीले राउटे समुदायको आवश्यकता र इच्छालाई केन्द्रमा राखेर सम्बन्धित निकायसँग समन्वय गर्दै शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, सामाजिक सुरक्षा र जीविकोपार्जनका क्षेत्रमा थप काम गर्नुपर्ने बताइन्।
उनले राउटे समुदायको स्वतन्त्र इच्छा, सहभागिता र सहमतिका आधारमा परिवर्तनका सम्भावनाबारे छलफल गर्नुपर्नेमा जोड दिइन्। साथै, समुदायको परम्परागत सीप र कलाको संरक्षणसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको बजार पहुँच विस्तार गर्न आवश्यक रहेको बताइन्।
राउटे समुदायको मौलिक पहिचान जोगाउँदै उनीहरूको जीवन सहज बनाउने विषयमा सरकार र समुदायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको मन्त्री बादीको भनाइ छ।
भेटघाटको अन्त्यमा मन्त्री बादीले राउटे समुदायका सदस्यहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा दिइन्। मन्त्रीको निमन्त्रणाप्रति खुसी व्यक्त गर्दै उनीहरूले मन्त्रालयमा आउने बताएका छन्।
सल्यानको बस्तीमा भएको भेटदेखि काठमाडौंको गेस्ट हाउससम्म आइपुगेको यो संवादले राउटे समुदायको मौलिक कला र संस्कृति संरक्षणसँगै सुरक्षित आवास तथा शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवामा पहुँचको विषयलाई पुनः चर्चामा ल्याएको छ।


