
रसुवाको उत्तरी भूगोल आमाछोदिङ्मो गाउँपालिका को काखमा आज एउटा कारुणिक तर आशावादी इतिहास कोरिएको छ। भोटेकोसीको बाढीसँगै हाइड्रोमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी आमा पेमा लामा (परिवर्तित नाम) को जीवनमा पीडाका पहाडहरू थुप्रिएका थिए। काखमा रहेकी नवजात छोरी लाई हेर्दै भविष्यको चिन्तामा डुबिरहेकी आमाका लागि श्रीमान् गुमाएको शोक, सुत्केरी अवस्थाको कमजोरी र जीविका चलाउने चुनौती कम्ती कठिन थिएन।
यही संवेदनशील यथार्थबीच २०८३ मङ्सिर १० गते रसुवाको दुर्गम आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसी मा माननीय मन्त्री सिता वादीज्यू स्वयं स्थलगत रूपमा उपस्थित हुनुभयो। एकातिर बाबु गुमाएकी अबोध शिशु र सुत्केरी आमाको पीडा, अर्कोतिर राज्यको प्रत्यक्ष अभिभावकत्व—यस भेटले विपद् प्रभावित परिवारमा भरोसाको नयाँ दियो बालेको छ।
स्थलगत कार्यक्रममार्फत आमाछोदिङ्मो गाउँपालिकाकी ती नवजात शिशुसहितकी सुत्केरी आमाको नाममा रहेको कुमारी बैंकको खातामा पहिलो महिनाको रु. १७,५००/- जम्मा गर्दै नेपाल सरकारको दीर्घकालीन स्याहार योजनाको औपचारिक सुरुवात गरिएको छ। अब ती नवजात छोरी १८ वर्ष उमेर नपुगेसम्म आमासँगै परिवारकै न्यानो काखमा रहेर मासिक रु. १७,५००/- सहायता प्राप्त गर्ने सुनिश्चितता भएको छ।
यो पहल नेपाल सरकारद्वारा लागू ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गतका विभिन्न प्याकेजमध्ये राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित MITGF संस्थाबीच उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती वा सुत्केरी महिलाका लागि तय गरिएको विशेष प्याकेजअन्तर्गत अघि बढाइएको हो। अन्य प्याकेजहरूअन्तर्गत मध्यम र न्यून जोखिममा रहेका बालबालिकाका हकमा MITGF, SOS Children लगायतका साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यक्रम लागू गरिनेछ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको लेखाजोखा तथा स्याहार योजना निर्माणका लागि प्रभावित क्षेत्रमा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिव श्री शान्त कुमारी भण्डारीको नेतृत्वमा ५ वटा टोली गत हप्तादेखि स्थलगत रूपमै कार्यक्षेत्रमा खटिएर काम गरिरहेका छन्।
सोही क्रममा कार्यक्षेत्रमा खटिएको टोलीले उक्त घटनाको विस्तृत लेखाजोखा तथा अध्ययन सम्पन्न गरेपछि यस संवेदनशील विषयमा माननीय मन्त्रीज्यूले गहिरो चासो व्यक्त गर्नुभयो। मन्त्रीज्यू स्वयं स्थलगत रूपमै कार्यक्षेत्रमा पुगेर सहयोग हस्तान्तरण कार्य सम्पन्न गर्नुभएसँगै नेपाल सरकारको विपद् प्रभावित दीर्घकालीन स्याहार योजनाको औपचारिक सुरुवात भएको छ।
यस अवसरमा माननीय मन्त्री सिता वादीज्यूले बालबालिकालाई परिवारबाट अलग नगरी आफ्नै घर-परिवारमा सुरक्षित हुर्काउने सरकारको दृढ संकल्प व्यक्त गर्दै राख्नुभएका प्रमुख धारणाहरू यसप्रकार छन्:

• १८ वर्षसम्म राज्यको पूर्ण अभिभावकत्व :
रसुवा–भोटेकोशी विपद् प्रभावित बालबालिका तथा आगामी दिनमा विपद्का कारण बाबुआमा दुवै गुमाएका, बाबु वा आमामध्ये एक गुमाएका, वा स्वयं वा संरक्षक विपद्का कारण घाइते वा अपाङ्गता भई संरक्षणको जोखिममा रहेका बालबालिकालाई नेपाल सरकारले दीर्घकालीन स्याहार योजनामार्फत १८ वर्ष उमेर नपुगेसम्म शिक्षा, स्वास्थ्य र पालनपोषणको पूर्ण सुनिश्चितता गर्नेछ।
• गोल्जुङबाट ऐतिहासिक सुरुवात र स्रोतको सुनिश्चतता :
दुर्गम आमाछोदिङ्मो गाउँपालिकाबाट २ हप्ताको नवजात शिशुसहितकी आमालाई १८ वर्ष नपुगेसम्म मासिक रु. १७,५००/- पाउने गरी पहिलो महिनाको रकम आमाको कुमारी बैंक खातामा जम्मा गरेर कार्यक्रम थालनी गरिएको छ। प्रत्येक बालबालिकाको व्यक्तिगत स्याहार योजना निर्माण गरी सबै लक्षित बालबालिकालाई यस्तै सहायता प्याकेज उपलब्ध गराइनेछ। हालसम्म MITGF मार्फत १५० जना, SOS मार्फत ६५० जना र प्रविना फाउन्डेशनबाट १० जना गरी कुल ८१० जना बालबालिकाको दीर्घकालीन स्याहार योजनामा योगदान गर्ने प्याकेज राष्ट्रिय बाल अधिकार परिषद्सँग रहेको छ। सेवा प्रदायक निकायहरूबाट प्रस्ताव आउने क्रम जारी रहँदा तेस्रोपटक सूचना समेत जारी गरिएको छ। मन्त्रालयको बालकोषमा ७ करोड रुपैयाँ रहेको र MITGF र नेपाल सरकारबीच बाढी प्रभावित बालबालिकाका लागि ५८ करोड रुपैयाँ बराबरको सम्झौता सम्पन्न भइसकेको छ।
• घरदैलोमै पुगेर लेखाजोखा र सहायता निर्धारण :
विपद् लगत्तै पहिलो पटक द्रुत लेखाजोखा टोली, दोस्रो पटक लेखाजोखा सहजीकरण टोली र तेस्रोपटक सहायता निर्धारण सहजीकरण टोली परिचालन गरी घर-घरमा पुगेर बालबालिकालाई दीर्घकालीन स्याहार योजनामा जोड्ने काम भइरहेको छ। हाल रसुवा र नुवाकोटमा छुट्टाछुट्टै ३ वटा टोली तथा काठमाडौँ उपत्यकामा २ वटा टोली गरी कुल ५ वटा टोली परिचालन गरिएको छ, जसमा युनिसेफ नेपाल, MITGF, SOS लगायतका निकायहरूसँग सहकार्य भइरहेको छ।
• बालगृहलाई अन्तिम विकल्प बनाउँदै पारिवारिक पुनर्मिलन :
अनधिकृत रूपमा बालबालिकालाई बालगृहमा ओसारपसार गरिँदा गाउँ नै रित्तिने अवस्था सिर्जना भएको र अन्तिम विकल्प हुनुपर्ने बालगृह पहिलो रोजाइ बन्दै गएको प्रवृत्तिलाई यस कार्यक्रमले नियन्त्रण गर्नेछ। कानुनविपरीत बालगृहमा पुर्याइएका बालबालिकाको पारिवारिक पुनर्मिलन अभियानअन्तर्गत हालसम्म २७ जना बालबालिकालाई परिवारमा पुनर्मिलन गराइसकिएको छ।
• अस्थायी संरक्षण केन्द्रमार्फत आकस्मिक सेवा :
भदौ १० को विपद्पश्चात् सरकारले ललितपुरको ठेचोमा आफ्नै अस्थायी संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ, जहाँ आवास, खानपिन, परामर्श, स्वास्थ्य उपचार, मनोसामाजिक सेवा र पारिवारिक पुनर्मिलन सेवा प्रदान गरिँदै आएको छ। उक्त केन्द्रबाट हालसम्म ४९ जना बालबालिका लाभान्वित भएका छन् भने परिवार वा नातागोताको हेरचाहमा पठाउ/न नसकिएका ९ जना बालबालिकालाई लेखाजोखा तथा गाउँपालिकाको सिफारिससहित परिषद्मा सूचीकृत सेवा प्रदायक निकायमा पठाइएको छ।
आमाको काखभन्दा सुरक्षित संसार बालबालिकाका लागि अरू हुँदैन। गोल्जुङमा श्रीमान् गुमाएर एक्लिएकी आमा र नवजात शिशुको हात थाम्दै राज्यले चालेको यो कदमले केवल आर्थिक सहयोग मात्र होइन, “विपद्मा अभिभावक गुमाए पनि राज्य साथमा छ” भन्ने जीवन्त सन्देश रसुवाको पहाडभरि गुञ्जाएको छ।


