अनामनगरमा खुल्दै मेडिटेरानियन फुड, स्वास्थ्यवर्द्धक परिकारमा जोड⚡सुनापति पर्यटन महोत्सवको घोषणा, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य⚡गोल्जुङको काखमा फक्रिएको आशा : आमासँगै हुर्कने नयाँ जीवन र राज्यको अभिभावकत्व⚡प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार⚡घोप्ट्याएको भात : परम्परा, संस्कृति र आजको फेसन⚡बिहीबारको दिन तपाईंका लागि कस्तो रहला? हेर्नुहोस् आजको राशिफल⚡एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि⚡यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित⚡राउटे समुदायसँग मन्त्री बादीको आत्मीय भेट, शिक्षा–स्वास्थ्यदेखि सुरक्षित आवाससम्म छलफल⚡शान्तनुको उपचार, पुनर्स्थापना र परिवारको भविष्यमा सरकारको चासो

सुनापति पर्यटन महोत्सवको घोषणा, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १० गते, बिहीबार २१:१२

काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुनापति पर्यटन महोत्सव–२०८३ आयोजना गर्ने भएको छ। महोत्सवबारे गाउँपालिकाले आज नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो।

सुनापति गाउँपालिकाको आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म तीन दिनसम्म सुनापति डाँडामा महोत्सव सञ्चालन हुनेछ। महोत्सव अवधिमा करिब १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य गाउँपालिकाले लिएको छ।

पत्रकार सम्मेलनमा गाउँपालिकाले सुनापतिको धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाएको छ।

महोत्सवको मुख्य आकर्षणका रूपमा सुनापति डाँडा, १०८ लहरेमाने तथा सुनापति डाँडामा रहेको विशाल महादेवको मूर्तिलाई प्रवर्द्धन गरिनेछ। धार्मिक तथा सांस्कृतिक सम्पदासँगै सुनापति क्षेत्रको प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली र स्थानीय संस्कृतिलाई पर्यटनसँग जोड्ने गाउँपालिकाको योजना छ।

हालै सुनापति डाँडामा १०८ लहरेमानेको विशेष पूजा तथा धार्मिक कार्यक्रमको तयारीसमेत अघि बढाइएको छ। सुनापतिमा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको समाचार यसअघि पनि सार्वजनिक भइसकेको छ।

स्थानीय उत्पादन र रोजगारीमा जोड

महोत्सवमा स्थानीय कृषि उपज, फलफूल, तरकारी, खाद्यान्न, मौलिक परिकार, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बिक्री गरिनेछ।स्थानीय किसान, महिला समूह, सहकारी, उद्यमी तथा व्यवसायीलाई आफ्ना उत्पादनको प्रचार तथा बजारीकरण गर्ने अवसर प्रदान गर्ने गाउँपालिकाले जनाएको छ। पर्यटनसँग स्थानीय कृषि तथा घरेलु उत्पादनलाई जोडेर स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

कला, संस्कृति र सांगीतिक कार्यक्रम

महोत्सवमा चर्चित गायक विश्व दोङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। तामाङ समुदायको मौलिक संस्कृति, डम्फु, टुङ्नालगायत स्थानीय सांस्कृतिक प्रस्तुतिलाई समेत प्राथमिकता दिइनेछ।
कला, साहित्य, सिर्जना तथा खेलकुदसम्बन्धी कार्यक्रमसमेत आयोजना गरिने गाउँपालिकाले जनाएको छ।

पर्यटन पूर्वाधारमा निजी क्षेत्रलाई आह्वान

सुनापतिलाई दीर्घकालीन पर्यटन गन्तव्यका रूपमा विकास गर्न निजी क्षेत्र तथा लगानीकर्तालाई सहकार्यका लागि आह्वान गरिएको छ।
होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, पर्यटन सेवा तथा अन्य पूर्वाधारमा लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गाउँपालिकाको योजना छ। पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक व्यवसायी तथा संस्थालाई आवश्यक समन्वय र सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ।
नेपाल पर्यटन बोर्डले यसअघि सुनापति–शैलुङ क्षेत्रलाई जोड्ने पर्यटकीय पदमार्ग विकासको सम्भाव्यताबारे स्थलगत अध्ययनसमेत गरेको थियो। अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध सुनापति–शैलुङ क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याएको थियो।
तीन दिनको कार्यक्रमलाई दीर्घकालीन अभियान बनाउने लक्ष्य
गाउँपालिकाले महोत्सवलाई तीन दिनको मनोरञ्जनात्मक कार्यक्रमका रूपमा मात्र नभई सुनापतिको पर्यटन विकासका लागि दीर्घकालीन अभियानको सुरुवातका रूपमा लिएको जनाएको छ।

सुनापतिको धार्मिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादन र ग्रामीण जीवनशैलीलाई एकीकृत रूपमा प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने गाउँपालिकाको लक्ष्य छ।
महोत्सव सञ्चालनका लागि करिब रु. १ करोड खर्च हुने अनुमान गरिएको छ।

गाउँपालिकाले महोत्सवमा राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्था, पर्यटन व्यवसायी, निजी क्षेत्र, कृषक, उद्यमी, कलाकार, साहित्यकार, खेलाडी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेको छ।

“सुनापति जाऔँ, प्रकृति र संस्कृति चिनौँ” भन्ने सन्देशसहित आयोजना हुने महोत्सवले सुनापतिको पर्यटन पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु