• सहकारी पार्टी नेपाल , विवेकशील नेपाली दलमा सम्मिलित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १५:०३

    विवेकशील नेपाली दल र सहकारी पार्टी नेपाल बिच मिति २०७७/०५/२१ गते सम्मिलन सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर भएसँगै दुई दल एकीकृत भएका छन्। विवेकशील नेपाली दलको सङ्घीय समितिको बैठकबाट पारित ‘एकीकरण, तथा सहकार्य (सम्बन्धको) नियमावली’को जगमा दलको राजनीतिक दस्ताबेजको बुँदा नं २२ ( उन्नत प्रगतिशील लोकतान्त्रिक वृहत् एवं साझा गठबन्धनको विवेकशील नेपालीले नेतृत्व गर्ने ) अनुरूप यो प्रक्रिया सम्पन्न भएको हो । यो सम्मिलनसँगै विवेकशील नेपाली दलले सुसंस्कृत राजनीतिको केन्द्र बनाउने उद्घोष गरेको छ । विवेकशील नेपाली दल २०६९ देखि नेपालमा वैकल्पिक सुसंस्कृत राजनीति गर्दै सक्रिय छ भने सहकारी पार्टी नेपाल सहकारी आन्दोलनलाई संस्थागत गर्ने र उत्पादनमा केन्द्रित गर्ने नीति तय गर्दै राजनीतिमा सहकारी संस्कृति (सहकार्य, सहमति र मेलमिलापको संस्कार) स्थापित गर्ने उद्देश्य लिएर २०७० सालदेखि देखी सक्रिय थियो ।

    सम्मिलन सम्झौता पत्र अनुसार एकीकृत दलको नाम “विवेकशील नेपाली दल” नै रहने र विधान र राजनीतिक दस्ताबेज पनि विवेकशील नेपाली दलकै कायम रहने छ । २०७६ कार्तिकमा विवेकशील नेपाली दलको नीति तथा राष्ट्रिय सम्मेलनबाट निर्वाचित सङ्घीय समिति बिस्तार गर्दै सहकारी पार्टीका केन्द्रीय पदाधिकारीलाई स-सम्मान सम्मिलित गरिने सहमति भएको छ। अन्य तहगत नेतृत्वका हकमा क्षमता र योग्यताका आधारमा उचित जिम्मेवारी प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौतामा हस्ताक्षरपछि विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवालले, “मूल्य-मान्यतामा आधारित सुसंस्कृत राजनीतिको केन्द्र तथा उन्नत लोकतान्त्रिक सङ्गठन बनाउँदै सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने र पुस्तान्तरण सहितको रूपान्तरणकारी नेतृत्व निर्माणमा लाग्ने विवेकशीलको नीति अनुरूप यो सम्मिलन भएको हो” भन्नुभयो ।

    यस्तै सहकारी पार्टी नेपालका अध्यक्ष हिरामणि पौडेलले, “विद्यमान अव्यवस्था र अराजकताबाट निकास पाउन र आउँदो ७९ / ८० निर्वाचन मार्फत नै सुसंस्कृत राजनीतिको अभ्यास स्थापित गर्नु पर्ने आजको आवश्यकतालाई गम्भीर रूपमा मनन गर्दै सहकार्य तथा मेलमिलापको नीति अनुरूप विवेकशील नेपाली दलको नेतृत्वमा वैकल्पिक केन्द्र निर्माण गर्न हामीले यो ऐतिहासिक कदम चालेका हौँ” भन्नुभयो। यो सम्मिलनसँगै विवेकशील नेपाली दलले मूल्यमान्यता, विचार र राजनीतिक एजेन्डा मिल्ने सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरूलाई सहकार्य, सम्मिलन र एकताको लागि विवेकशीलकै घोषित नीति अनुरूप आह्वान गरेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु