• सांसद अधिकारी किन वामदेवको पक्षमा यसरी उत्रिए ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार २१:४४

    काठमाडौं – वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको सचिवालयले गरेको निर्णयका पक्षमा र विपक्षमा आवाज उठेका छन् । कसैले प्रतिनिधिसभामा हारिसकेको व्यक्तिलाई फेरि पार्टीले राष्ट्रियसभामा ल्याउँदा गलत सन्देश जाने भन्दै विरोध गरेका छन् । पार्टीले भने वामदेव जत्तिको मान्छे राष्ट्रियसभामा चाहिन्छ भनेर बचाउ गरेका छन् । उनी प्रतिनिधिसभाको यो निर्वाचनमा बर्दिया १ बाट कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमसँग पराजित भएका हुन् । उनलाई पार्टीले नै हराएको भनेर भन्नेहरु पनि छन् तर नेकपाको र कांग्रेसको मतान्तर धेरै भएको क्षेत्रमा उनले हारेपछि कतै उनी नै जनताको नजरमा कमजोर भएका त होइनन् भन्ने प्रश्न उठेको छ ।

    गौतमलाई आलोचना गर्नेहरुलाई केही यक्ष प्रश्नहरु भनेर धादिङ २ को (१) प्रदेशसभामा निर्वाचित नेकपाकै सांसद् डा. रामकुमार अधिकारीले केही यक्ष प्रश्नहरु गरेका छन्, उनका प्रश्न जस्ताको त्यस्तै– विभिन्न सञ्चारमाध्यमहरु र सामाजिक सन्जालमार्फत कमरेड वामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयको चर्को आलोचना भइरहेको छ । केहीले गौतमको क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन् र हदैसम्म लज्जित हुने भाषामा अपमान गरेका छन् । त्यसैगरी हाल केही बुद्धिजिवीहरुको प्राज्ञिक कौशलहरु यो वा त्यो नाममा गौतमको आलोचना गर्नमै व्यस्त देखिन्छन् । यही सन्दर्भमा यहाँ केही प्रस्ट्याउन चाहन्छु ।

    १. वामदेव गौतम नेपालको कम्युनिस्ट आन्दोलनका समकालीन शिर्षस्त नेताहरुमध्ये एक हुनुहुन्छ । उहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेकपाकै अध्यक्ष प्रचण्ड, नेकपाकै अर्का वरिष्ठ नेता माधवकुमार नेपालका समकालीन नेता हुनुहुन्छ ।

    २. नेपालको कम्युनिस्ट आन्दोलनमा वामदेब गौतमको ठुलो योगदान छ । कम्युनिष्ट पार्टीलाई यो उचाइमा ल्याउन उहाँको अभूतपूर्व योगदान छ । उहाँको नाम, संघर्ष, निर्भिकता, निष्ठा, अडान, देशभक्ति र त्याग सुनेर नेपालमा धेरै मानिसहरु कम्युनिस्ट भएका छन् । उहाँ एक कुशल संगठक, सिद्धान्त पोख्त व्यक्तित्व हुनुहुन्छ ।

    ३. नेपालमा जनयुद्ध चरम ढंगले अगाडि बढिरहेको बेला ठूलो खतरालाई मोलेर रोल्पा गई साहशिक रुपले निर्णय गरी जनयुद्ध र जनआन्दोलनलाई एकाकार गराई २०६२ को आन्दोलन सम्भव गराउने र जनयुद्धलाई शान्तिपूर्ण अवतरण गर्ने काममा कमरेड वामदेब गौतमकोे योगदानलाई भुल्न मिल्दैन तसर्थ उहाँ एक ऐतिहासिक व्यक्ति हुनुहुन्छ ।

    ४. नेपालको संविधान बनाउने कार्यमा कमरेड गौतमको योगदान पनि अविस्मरणीय छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशितालगायत संविधानका प्रमुख उपलव्धिहरु सम्भव गराउने कार्यमा उहाँको अहम भूमिका छ । ५. नेपालमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीचमा चुनावी एकताका प्रमुख सुत्रधारमध्येका एक नेता उहाँ नै हुनुहुन्छ । यी दुई पार्टीबीचको एकता गराउन उहाँको त्यो भूमिकालाई अवमूल्यन गर्न मिल्दैन ।

    ६. कमरेड वामदेब गौतम महान देशभक्त नेता हुनुहुन्छ । केही समय अगाडि नेपालको गुमेको भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक कदमको सुत्राधारमध्येका एक हुनुहुन्छ उहाँ । उहाँले भित्री रुपमा गरेको तयारी र मिहनेतले नै त्यो सफलता पाएकोमा कसैले पनि शंका गर्नु पर्दैन ।

    ७. हालैमात्र नेपाल कम्युनिस्ट पार्टीलाई विभाजनको संघारबाट आफ्नो ६ बुँदे प्रस्तावमार्फत हस्तक्षेप गरी उहाँले पार्टी जोगाउने काम गर्नुभएको वास्तविकता ताजै छ । यो महान र ऐतिहासिक काम हो यति नगरेको भए पार्टी अत्यन्तै संकटग्रस्त अवस्थामा पुगिसकेको थियो । नेपाल कम्युनिस्ट पार्टीको इतिहासलाई हेर्ने हो भने पार्टी नेतृत्वमा संकट परेको बेला पार्टीलाई एक ढिक्का बनाउन कमरेड वामदेव गौतमको महत्वपूर्ण भूमिका सधैं रहँदै आएको छ र अब पनि झन् रहन्छ भन्ने विश्वास गर्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टीलाई एकीकरण गर्ने आधार तयार पार्ने र फुट्न लागेको कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउने नेता कमरेड वामदेव गौतमको कदम देखेर प्रतिकृयावादीहरु र तिनका मतियारहरु मर्माहत भएका छन् । देशभक्त नेतालाई देशद्रोही दलालहरुले विरोध गर्नु स्वाभाविक नै हो ।

    ८. मुलुकको यावत समस्या समाधान गर्न, नेपाललाई विकसित र समृद्ध मुलुक बनाउने सुत्रहरु सहितको दीगो विकासका लक्ष्यहरु, रणनीतिहरु, सूचांकहरु पूरा गर्न आवश्यक रणनीतिहरु, गर्नुपर्ने इन्टर्भेन्सनहरु सबै समेटेर लेखिएको ‘नेपाल निर्माणको महाअभियान’ पुस्तक लगायत अनेक महत्वपूर्ण राजनैतिक, साहित्यिक पुस्तकहरुका लेखक हुनुहुन्छ उहाँ । कमरेड वामदेव गौतमसँग देश र जनताको उन्नति, प्रगति र समृद्धिको निम्ति भिजन, विचार, सपना, योजना र दृढ इच्छाशक्ति छ । उहाँमा भूकम्प, नाकाबन्दी, कोरोना र शताब्दिऔँदेखिको बेथितीका कारणले शिथिल अर्थतन्त्र सुधार्न एवं मुलुकले अनेक क्षेत्रमा छलाङ मार्न समृद्धिको सञ्चालन गर्न व्यापक जनपरिचालन गर्न सक्ने क्षमता पनि छ । उहाँको निडर र हक्की स्वभावको प्रसंशा गर्नै पर्दछ ।

    १०. नेपालमा ठूलाठूला उद्योगहरु स्थापना हुन नदिने, लगानीमैत्री वातावरण हुन नदिने, नेपालीलाई गरिव नै देख्न चाहने, नेपालको अर्थतन्त्र ध्वस्त पार्न चाहने, नेपाललाई परनिर्भर बनाइराख्न चाहने शक्तिहरुले पुनः नेपालमा अस्थिरता छाओस् भनेर प्रार्थना गरिरहेका छन् । संसारलाई उदाहरण भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई ती शक्तिहरुले निमिट्यान्न पार्न चाहन्छन् । ती अदृश्य शक्तिहरुले राम्रा देखिने नाराको आडमा राष्ट्रघाती काम गरिरहेका हुन्छन् र जनता झुक्क्याइरहेका हुन्छन् । दलाल पूँजिवादी प्रवृत्तिले आफ्नो कुरा सोझो भाषामा भन्दैन । त्यसैले उनीहरूले केही असम्भव तर सुन्दा र पढ्दा राम्रा लाग्ने नारा र भनाई तयार गर्छन् र जनताको मनोविज्ञानको शोषण गर्छन् । त्यही दलाल पवृति आज त्याग, निष्ठा र संघर्षको प्रतिमूर्ति कमरेड वामदेब गौतमलाई तल्लो स्तरमा ओर्लिएर मानव सभ्यतालाई नै लज्जित पार्ने शव्दहरु बोलेर, लेखेर, व्यङ्य गरेर अपमानित गरिरहेका छन् ।

    ११. बुद्धिजीविहरुलाई प्रश्न गौतम बुद्धले प्रतिपादन गरेको दर्शनमा अन्य धेरैले पीएच्डी गरेका छन् । गौतम बुद्धले त कुनै डिग्री लिएका थिएनन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु